देवदह। रुपन्देहीको देवदहमा डि युनिटी क्लबद्वारा आयोजित देवदह प्रिमियर लिग (डीपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा बिर्ता राइनोज विजयी भएको छ। बिर्ता राइनोजले शितलानगर सुपर स्ट्राइकर्सलाई ६ विकेटले पराजित गरेको हो।
देवदह–७ स्थित देवदह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको शितलानगर सुपर स्ट्राइकर्सले १७ दशमलभ २ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन बनाएको थियो। टिमका लागि कप्तान विनोद क्षेत्रीले २३, जितेन्द्र केवटले २१ र निरज भण्डारीले २० रनको योगदान दिए। बलिंङ्ग तर्फ बिर्ता राइनोजका इन्द्रजित यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै, राजकुमार पासी र राकेश यादवले समान २–२ विकेट लिए।
१०० रनको लक्ष्य पछ्याएको बिर्ता वारियर्सले १३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य सजिलै पूरा गर्यो। टिमका लागि इन्द्रजित यादवले २६ रन बनाए भने रमजम अली र सोनु शाहानीले समान २२–२२ रनको योगदान दिए।शितलानगर सुपर स्ट्राइकर्सका सन्देश थापाले ३ विकेट लिँदा पिन्टु शाहानीले १ विकेट लिए।
बलिङमा ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिनुका साथै ब्याटिङमा ११ बलमा २६ रन बनाएका इन्द्रजित यादव खेलको प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।