अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
जिल्लाको छत्रदेव गाउँपालिका–३, मथुरास्थित सन्धिखर्क–तम्घास सडकखण्डमा बल्कोटबाट सन्धिखर्कतर्फ रोलर लोड गरी जाँदै गरेको लु।४ त ७९१७ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिने साइडमा पल्टिएको हो।
दुर्घटनामा ट्याक्टरले च्यापिएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमडीका करिब २२ वर्षीय सहचालक गणेश रास्कोटी मगर गम्भीर घाइते भएका थिए। उनलाई जेसीबीको सहायताले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्याइएकोमा चिकित्सकले दिउँसो १२:१० बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनामा ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २६ वर्षीय पुण्यप्रसाद थारु घाइते भएका छन्। उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको छ।
यस्तै, मोटरसाइकल चालक छत्रदेव गाउँपालिका–४, केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल रहेका छन्। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेको र सवारी चालक अनुमतिपत्र नभएको उल्लेख छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।