काठमाडौंको नागढुङ्गामा १०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
मिति २०८३ मंसिर ३ गते लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले उपत्यका भित्रिने सवारीसाधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
ना.५७ प. ७५०५ नम्बरको एनएस २०० पल्सर मोटरसाइकलमा सवार व्यक्तिहरूलाई शंका लागेर जाँच गर्दा लागुऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का २९ वर्षीय दिपेश थापा र बझाङको सरमा गाउँपालिका–३ का २६ वर्षीय सञ्जय बोहरा रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १०२ ग्राम खैरो हेरोइन, मोटरसाइकल एक थान र मोबाइल दुई थान बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको प्रहरीले जनाएको छ।