सैनामैना । नेपाल स्काउट, लुम्बिनी प्रदेशअन्तर्गत सैनामैना नगरपालिका–२ स्थित न्यू एकेडेमी स्काउट दलको आयोजनामा सञ्चालित ‘स्काउट मित्रता क्याम्पको दोस्रो दिन क्याम्प फायरसहित विभिन्न गतिविधि सम्पन्न भएका छन्। क्याम्पको दोस्रो दिन आयोजित क्याम्प फायर कार्यक्रम न्यू एकेडेमी स्काउट दलका अध्यक्ष तथा विद्यालयका प्राचार्य टोपलाल भट्टराईको अध्यक्षता र नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रमुख आयुक्त दिननाथ भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिननाथ भट्टराईले स्काउटिङ बालबालिकाको नेतृत्व क्षमता, अनुशासन, व्यवहारिक ज्ञान र सामाजिक उत्तरदायित्व विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। स्काउटिङलाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा नभई अनुभव र अभ्यासबाट सिक्ने अनौपचारिक शिक्षाका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले स्काउटिङमार्फत बालबालिकालाई राष्ट्रप्रेमी, इमानदार, नैतिकवान तथा सामाजिक रूपमा जिम्मेवार नागरिक बनाउने उद्देश्य राखिएको बताउनुभयो। विद्यालयसँग जोडेर स्काउट शिक्षालाई अगाडि बढाउँदा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक तथा बौद्धिक विकासमा सहयोग पुग्ने र उनीहरू भविष्यमा मुलुकको नेतृत्व गर्न सक्षम बन्ने उहाँले उल्लेख गर्नुभयो।
क्याम्पमा टनेल क्रसिङ, मंकी ब्रिज, टायर वाल क्लाइम्ब, स्पाइडर नेट क्लाइम्ब, बाँसका अवरोध पार गर्ने अभ्यास, वेट लिफ्टिङ, बाँसको भर्याङ क्रसिङ तथा टच द टार्गेटलगायतका साहसिक गतिविधि सञ्चालन गरिएको थियो। त्यस्तै, प्राथमिक उपचार, सीपीआर, किचन फायर सेफ्टी, ल्याडर फायर सेफ्टी तथा ह्विलब्यारोसम्बन्धी प्रदर्शनसमेत गरिएको थियो।
त्यसैगरी, विद्यालयका सञ्चालक समिति अध्यक्ष मीनप्रसाद भट्टराईले विद्यार्थीलाई यस्ता गतिविधिमा बढीभन्दा बढी सहभागी गराउँदा उनीहरूको शारीरिक, मानसिक तथा व्यवहारिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। स्काउटिङले अनुशासित, देशभक्त र जिम्मेवार नागरिक निर्माण गर्नुका साथै विपद् तथा प्रकोपका समयमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने जनशक्ति तयार पार्ने उहाँको भनाइ थियो।
विद्यार्थीले समाजप्रति नागरिकका रूपमा निर्वाह गर्नुपर्ने दायित्व बुझ्न, सकारात्मक सोचको विकास गर्न र जीवनका हरेक परिस्थितिका लागि तयार रहन यस्ता कार्यक्रम उपयोगी हुने उहाँले बताउनुभयो। सिकाइलाई क्याम्पमा मात्र सीमित नराखी जीवनभर व्यवहारमा उतार्नसमेत उहाँले आग्रह गर्नुभयो।
यसैगरी, सैनामैना नगरपालिका–२ का वडाध्यक्ष अमरबहादुर कँडेलले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि स्काउटजस्ता गतिविधि महत्वपूर्ण रहेको बताउनुभयो। विपद्का बेला आफू र आफ्नो परिवारलाई सुरक्षित राख्दै अरूको जीवन रक्षामा समेत सहयोग गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास स्काउटिङबाट प्राप्त हुने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा अभिभावकहरूको सहभागितासमेत रहेको थियो। बालबालिकाले सिकेका सीप, प्रतिभा र प्रस्तुत गरेका गतिविधि प्रत्यक्ष अवलोकन गर्न अभिभावकको उपस्थिति सकारात्मक रहेको आयोजकले जनाएको छ।
स्काउटिङमार्फत विद्यार्थीमा अनुशासन, आत्मनिर्भरता, सहकार्य, सेवाभाव, नेतृत्व क्षमता तथा प्राथमिक उपचार सम्बन्धि सीप विकास गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको आयोजकले जनाएको छ।
