बुखारेस्ट, रोमानिया | गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) रोमानियाको नवनिर्वाचित २५ सदस्यीय कार्यसमितिले आइतबार शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेको छ। रोमानियाको राजधानी बुखारेस्टस्थित माछापुच्छ्रे रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोमा देवी थापा मगरसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले संस्थाको विधान, उद्देश्य र जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गर्दै शपथ लिएका हुन्।
कार्यक्रममा NRNA का डा. हेमराज शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का महासचिव चिरञ्जीवी खड्का, युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, क्षेत्रीय उपसंयोजकहरू बाबाराजेश्वरी थापा, तीर्थ धमला, निरपेश गिरी र संघर्ष के.सी.को उपस्थिति थियो। कार्यक्रममा ICC का पूर्वसचिव भीमकमल के.सी., ICC सदस्य सुरेन्द्र गौतम, विभिन्न संघसंस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ता तथा रोमानियामा बसोबास गर्दै आएका नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। शपथग्रहण समारोहमा रोमानियामा कार्यरत नेपाली श्रमिकका हकहित संरक्षण, नेपाली समुदायको एकता, संस्थागत सुदृढीकरण, आर्थिक पारदर्शिता तथा सामाजिक सेवाका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि संस्थालाई थप जिम्मेवार, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित कार्यसमितिले रोमानियामा रहेका नेपाली श्रमिक तथा समुदायको हित संरक्षण, आपसी सहयोग र सहकार्य विस्तार गर्दै संस्थालाई साझा र विश्वसनीय संस्थाका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित कार्यसमितिको नामावली अध्यक्ष गोमा देवी थापा मगर, वरिष्ठ उपाध्यक्ष राजु लामा, उपाध्यक्ष सागर क्षेत्री, सुरेन्द्र लामा, थमन गुरुङ, टेक्सुराम राई, महासचिव गोविन्द सुब्बा, सचिव माधव घिमिरे, सरोज खनाल, कृष्ण बहादुर बि.क. मानबहादुर ब्लोन तामाङ,रञ्जित तामाङ गोले, कोषाध्यक्ष राजु राना मगर, सहकोषाध्यक्ष शशी लामा रहेका छन्। त्यसैगरी कार्यसमिति सदस्यमा मनिष खत्री, अनिल पाण्डे, सन्तोष थापा मगर, अम्बरबहादुर तामाङ, गन्दीप मगर, लिला देवी ढकाल, ऋषिराम घिमिरे, म्याक्स सिंह, रोशन कुमार औरी, रुद्रबहादुर थामी, रमेश गिरि रहेका छन्। नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहणसँगै NRNA NCC रोमानियाले आगामी कार्यकालका लागि संस्थागत गतिविधि तथा नेपाली समुदायसँग सम्बन्धित कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।