Pixel wave advertisement

'देवदहमा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न'

कार्तिक १८, २०८३

देवदह। देवदहा नगरपालिकामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, बाढी प्रभावित तथा बेपत्ता नागरिकको पहिचान, फोहोरमैला व्यवस्थापन, भूमिसम्बन्धी समस्या समाधान तथा विकास निर्माणका विभिन्न विषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरू गरिएको छ।

Advertisement

बैठक नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल, नगर प्रवक्ता गणेश डुम्रे, वडा नं. ८ का अध्यक्ष हरिप्रसाद पाण्डे, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, विभिन्न राजनीतिक दलका नगरस्तरीय प्रतिनिधि, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारी, नेपाल रेडक्रस सोसाइटी देवदहका सभापति कृष्णप्रसाद न्यौपाने, पत्रकार त्रिलोचन दाहाल, देवदह प्रहरी चौकी तथा नगर प्रहरीलगायतको उपस्थितिमा सम्पन्न थियो।

Advertisement

बैठकमा गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीमा परी देवदह नगरपालिकाका तीन जना नागरिक हालसम्म सम्पर्कविहीन रहेको र उनीहरूका परिवारबाट बेपत्ता पहिचानसम्बन्धी निवेदन प्राप्त भएको विषयमा छलफल भएको थियो। बेपत्ता नागरिकको पहिचान तथा प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।

Advertisement

त्यसैगरी, देवदहका सम्भावित बाढी जोखिम क्षेत्रहरूको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रदेश सरकारसमक्ष आवश्यक सिफारिस गर्ने निर्णय भएको छ।

बैठकमा नगर प्रमुख खरेलले नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गरिरहेका प्रयास र तयारीबारे जानकारी गराउनुभएको थियो। उहाँले नगरको फोहोरमैला व्यवस्थापन, सडकका खाल्डाखुल्डी पुर्ने कार्य, आगलागी नियन्त्रणका प्रयास, दमकलको व्यवस्थापन तथा अन्य विपद् प्रतिकार्यका विषयमा जानकारी गराउनुभएको थियो।

भूमिसम्बन्धी काममा ढिलासुस्ती छैन : नगर प्रमुख खरेल

बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणसम्बन्धी विषयमा पनि छलफल भएको थियो।

नगर प्रमुख खरेलले देवदह नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने नापजाँच, प्रमाणीकरणलगायतका काम सम्पन्न गरिसकेको र बाँकी प्रक्रिया जिल्ला भूमि समस्या समाधान आयोगमार्फत अघि बढ्ने जानकारी गराउनुभयो।

उहाँका अनुसार देवदहमा तयार भएका ५२९ जनाको जग्गाधनी पुर्जा जिल्ला भूमि आयोगले राजस्व दाखिलासम्बन्धी सूचना प्रकाशित गरेलगत्तै वितरण गर्न सकिने अवस्थामा रहेको छ। त्यस्तै, कुल अव्यवस्थित जग्गामध्ये ६७ प्रतिशतभन्दा बढी जग्गाको नापजाँच नगरपालिकाको आन्तरिक स्रोत परिचालनबाट सम्पन्न गरिएको छ।

राजस्व दाखिलासम्बन्धी सूचना प्रकाशित भएपछि पुर्जा वितरण प्रक्रिया अघि बढ्ने र हालसम्म १ हजार ३६१ परिवारको राजस्व दाखिलासम्बन्धी सूचना प्रकाशित भइसकेकोमा ७८९ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको नगर प्रमुखले जानकारी गराउनुभयो।

सडक बत्ती तथा सीसीटीभी जडान प्रक्रिया अघि बढ्दै

बैठकमा बुटवल–नारायणगढ सडकखण्डमा सडक बत्ती तथा सीसीटीभी जडान गर्ने प्रक्रियाबारे पनि जानकारी गराइएको थियो। उक्त योजनामा सडक आयोजनाबाट ६० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणबाट २० प्रतिशत तथा स्थानीय तहहरूको लागत सहभागिताबाट २० प्रतिशत स्रोत व्यवस्थापन गर्ने गरी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

त्यसैगरी, देवदह नगरपालिकाका १२ वटै वडाका मुख्य चोक तथा संवेदनशील क्षेत्रमा सीसीटीभी जडानका लागि एसियाली बैंकको लगानीमा सञ्चालन हुने GLAD परियोजनामा प्रस्ताव गरिएको नगर प्रमुखले जानकारी गराउनुभयो।

बैठकले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण, सार्वजनिक सुरक्षा, पूर्वाधार विकास र नागरिकका समस्याहरूको समाधानका लागि सम्बन्धित निकायबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

एनआरएनए रोमानियाको नयाँ कार्यसमिति गठन: अध्यक्षमा गोमा देवी थापा मगर

जितगढी किल्ला : जहाँ नेपाली वीरताले अंग्रेज फौजलाई पराजित गर्यो (भिडियाे)

देवदह प्रिमियर लिग (डीपीएल) : ढेकावर योद्धाज् २३ रनले विजयी

एनपीएल–३ मा आज जनकपुर र काठमाण्डु तथा कर्णाली र विराटनगरबीच खेल हुँदै

पाकिस्तानी खेलाडीको ठाउमा जनकपुर बोल्ट्समा दुईजना बंगलादेशी खेलाडीलाई अनुबन्ध

देवदह प्रिमियर लिग (डीपीएल) : खैरेनी ग्लाडियटर्स ७ विकेटले विजयी

एनिपएल-३ को दोस्रो खेलमा चितवनले विराटनगरलाई ८ रनले हरायो

एनपीएलमा आज पहिलाे खेलमा विराटनगर र चितवन तथा दाेस्राे खेलमा जनकपुर र कर्णाली भिड्दै