बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेशअन्तर्गत सैनामैना नगरपालिकास्थित न्यू एकेडेमी स्काउट दलको आयोजनामा तीन दिन दुई रातको ‘न्यू एकेडेमी स्काउट फ्रेण्डसिप क्याम्प’ सुरु भएको छ। कार्तिक २० गतेदेखि सुरु भएको क्याम्प कार्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। क्याम्पमा ४३ जना छात्र र ७२ जना छात्रा गरी कुल १२५ जना स्काउटहरुको सहभागिता रहेको क्याम्प संयोजक तथा स्काउट मास्टर सुस्मिता रानाले जानकारी दिनुभयो।
क्याम्पको उद्घाटन गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष मिनप्रसाद पौडेलले समाजसेवा गर्न सहज नभए पनि स्काउटिङको मूल उद्देश्य नै सेवा र समाज परिवर्तन भएको बताउनुभयो। उहाँले स्काउटले देखाएको सकारात्मक बाटोमा अघि बढ्न सहभागीहरूलाई आग्रह गर्दै क्याम्पबाट व्यवहारिक तथा सैद्धान्तिक शिक्षा हासिल हुने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे।
त्यसैगरी, विद्यालयका प्रिन्सिपल तथा न्यू एकेडेमी स्काउट दलका अध्यक्ष टोपलाल भट्टराईले स्काउटका लागि अनुशासन सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो। उहाँले क्याम्पबाट सहभागी विद्यार्थीहरूले जीवन परिवर्तन गर्ने पाठ, नैतिक शिक्षा र नेतृत्व विकासका सीप सिकेर जाने अपेक्षा व्यक्त गर्नुभयो। आफू सुरक्षित रहन र अरूलाई समेत सुरक्षित राख्न आवश्यक जीवनोपयोगी सीप सिक्नु नै स्काउटिङको महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै तालिमका प्रमुख प्रशिक्षक स्काउट मास्टर सुरज भट्टराईले स्काउट मित्रता क्याम्प केवल मनोरञ्जनको माध्यम मात्र नभई विद्यार्थीहरूको नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन र व्यवहारिक सीप विकास गर्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले क्याम्पमा समावेश गरिएका नौवटा साहसिक गतिविधिले स्काउटरहरूमा साहस, सहकार्य र चुनौती सामना गर्ने क्षमताको विकास गर्ने विश्वास व्यक्त गर्दै सबैलाई अनुशासित र सक्रिय भएर सहभागी हुन आग्रह गर्नुभयो। साथै, अन्य विद्यालयका स्काउटरहरूलाई समेत समेटेर कार्यक्रम आयोजना गरेकोमा न्यू एकेडेमी विद्यालय परिवारको प्रशंसा गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सैनामैना ओपन स्काउट क्रिउ तथा तालिम दललाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
क्याम्पको तालिम दलमा प्रथम कमाण्डर सन्दीप थारु, स्काउट मास्टर विशाल पाण्डे, रेन्जर शारदा पाण्डे, आसिका हुन्चुङ, सामना पाण्डे, रोभर रोशन ज्ञवाली, प्रख्यात अधिकारी र आशिष कार्की रहनुभएको छ।
कार्यक्रममा विद्यालयका ईसीए इन्चार्ज गगन जंग शाह, सेकेन्डरी कोअर्डिनेटर नवराज भुसाल, निम्न माध्यमिक तहका कोअर्डिनेटर मनोज पौडेल, प्राइमरी कोअर्डिनेटर मञ्जु ओली तथा प्रि-प्राइमरी कोअर्डिनेटर सेरीना प्रभु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम विद्यालयका प्राचार्य टोपलाल भट्टराईको अध्यक्षता, एकेडेमी चिफ नवीन प्रभुको स्वागत तथा स्काउट मास्टर अमृत सुनारको सञ्चालनमा सम्पन्न भएको थियो।
