देवदह । देवदहमा आयोजित वृहत् निःशुल्क मानसिक स्वास्थ्य शिविरबाट १८३ जना सेवाग्राही लाभान्वित भएका छन्। केरवानी स्वास्थ्य चौकीको समन्वय, चौतारी हस्पिटलको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ बुटवल संसारको आयोजनामा सम्पन्न शिविरमा मानसिक स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिएको हो।
शिविरमा वरिष्ठ टाउको, नशा, स्नायु तथा मनोरोग विशेषज्ञ डा. मौसमी थापाको नेतृत्वमा चिकित्सकीय टोलीले सेवा दिएको थियो। सेवाग्राहीहरूमा विशेषगरी एन्जाइटी, डिप्रेसन, मिर्गी, लागूऔषध तथा मादक पदार्थको दुरुपयोग जस्ता समस्या देखिएको जनाइएको छ। पहिचान भएका सबै समस्याका लागि आवश्यक औषधि निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। लायन्स क्लब अफ बुटवल संसारका अध्यक्ष लायन गोविन्द पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालका इलेक्ट गभर्नर एमजेएफ लायन सन्दीप कसौधन प्रमुख अतिथि रहेका थिए। त्यसैगरी देवदह नगरपालिका वडा नं. २ का वडाध्यक्ष दल बहादुर राकसकोटी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा देवदह नगरपालिकाकी कार्यपालिका सदस्य गीता भण्डारी, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, स्वास्थ्य अधिकृत माया पुन, केरवानी स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक काशीराम रेग्मी, लायन्सका विभिन्न पदाधिकारी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।
समुदायमा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढ्दै गइरहेको, तर समयमै पहिचान नहुँदा समस्या जटिल बन्दै जाने अवस्थालाई ध्यानमा राख्दै प्रारम्भिक चरणमै पहिचान, उपचार र परामर्शमार्फत समस्या नियन्त्रण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन लायन उमेश श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य लायन किरण ढकालले राखेका थिए।