बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन् । बुढा आइतबार दिउँसो वनमा बाख्रा चराउन गएको बेला माथिल्लो भिरबाट चट्याङ लागेर ढुङ्गा खस्दा घाइते भएका थिए।
उनलाई हिजो साँझ उपचारका लागि कोल्टी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार वैशाखयता जिल्लामा केही पटक चट्याङ परे पनि यसअघि मानवीय क्षति भएको थिएन । हिजो भने एक जना वृद्धको ज्यान गएको उनले बताए ।
उनले भने, “यसअघि परेका चट्याङबाट मानवीय क्षति भएको थिएन, तर ५० भन्दा बढी पशुचौपाया मरेका छन् । जसमा स्वामिकार्तिक खापर गाउँपालिकामा ३९ र जगन्नाथ गाउँपालिकामा २१ वटा बाख्रा मरेका हुन् ।”
पछिल्लो समय बाजुरामा बाढीपहिरो र चट्याङको जोखिम बढ्दै गएको भन्दै स्थानीयलाई सतर्क रहन तथा कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको सूचना अधिकारी शाहीले बताए ।