नेपालमा झण्डै तीन हजार जनामा डेंगु सङ्क्रमण पुष्टि पुष्टि भएको छ।
एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो सँगै गत पुसदेखि हालसम्म ७४ जिल्लाबाट डेंगु पुष्टि हुनेको सङ्ख्या दुई हजार ९५२ पुगेको छ । डा. दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन ।
डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा ८७७ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६१२, कोशीमा ५१८, लुम्बिनीमा ४६५, सुदूरपश्चिममा ३५०, कर्णालीमा ७७ र मधेशमा ५३ जनामा डेङ्गु पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो ।
चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।
त्यो बाहेक उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।