नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको हो ।
कर्णालीका लागि हुसेन तलतले ३३ बलमा दुई चौका र एक छक्काको मद्दतमा अविजित ५१ रन बनाउनुभयो । यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोड्नुभयो ।
पवन सर्राफले २१ बलमा दुई छक्काको मद्दतमा १५ रन बनाउनुभयो । गुल्सन झाले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै छ बलमा एक चौका र दुई छक्कासहित १८ रन जोड्नुभयो ।
बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले दुई–दुई विकेट लिनुभयो । यस्तै, रिजन ढकाल र कप्तान सिकन्दर राजाले एक–एक विकेट लिनुभयो ।