चिल्हियास्थित बाउन्न कोटी धाम मन्दिरमा तिलोत्तमा कन्टेन्ट क्रिएटर मिटअप २०८३ सम्पन्न भएको छ। जिल्लाभित्र विभिन्न स्थानमा रहेर डिजिटल सामग्री उत्पादन गर्दै आएका कन्टेन्ट क्रिएटरहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा तिलोत्तमा, सियारी, कञ्चन, देवदह, मर्चवारी, लुम्बिनी, सिद्धार्थनगरलगायतका क्षेत्रबाट कन्टेन्ट क्रिएटरहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका आयोजक रविजंग कार्कीले जिल्लाभित्र छरिएर रहेका कन्टेन्ट क्रिएटरहरूलाई एकै ठाउँमा ल्याई आपसी सहकार्य, अनुभव आदानप्रदान र नयाँ सम्भावनाका विषयमा छलफल गर्ने उद्देश्यले मिटअप आयोजना गरिएको बताउनुभयो।
त्यस्तै, बाउन्न कोटी धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तारानाथ छन्त्यालले चिल्हिया रुपन्देहीकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक स्थलमध्ये एक भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभयो। उहाँले यस्ता ओझेलमा परेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई देशव्यापी रूपमा चिनाउन नयाँ पुस्ताका कन्टेन्ट क्रिएटरहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी कन्टेन्ट क्रिएटरहरूले डिजिटल सामग्री उत्पादनका क्रममा आफूहरूले भोगेका अनुभव, चुनौती र सफलताका कथाहरू एकआपसमा साटासाट गरेका थिए। साथै, स्थानीय कला, संस्कृति, पर्यटन तथा सम्भावनालाई डिजिटल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए।
यस्ता कार्यक्रमले जिल्लाका कन्टेन्ट क्रिएटरहरूबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र डिजिटल सामग्री उत्पादनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।









