रूपन्देहीको देवदह–५ खैरेनीमा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय मा.वि. मा गठित बुद्ध पब्लिक स्काउट दलले विद्यार्थीहरूको व्यक्तित्व विकास तथा व्यवहारिक शिक्षालाई लक्षित गर्दै हाईकिङ तथा प्राथमिक उपचार तालिम कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार विद्यालय परिसरबाट सुरु भएको हाईकिङ कार्यक्रम देवदह–६ स्थित गौतम बुद्ध राष्ट्रिय उद्यान सम्म पुगेको थियो। कार्यक्रममा सहभागी स्काउट सदस्य विद्यार्थीहरूले प्राकृतिक वातावरणमा पदयात्रा गर्दै अनुशासन, आत्मनिर्भरता र सामाजिक जिम्मेवारी सम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए।
विद्यालयको प्रधानाध्यापक कृष्ण गैरेले यस्ता कार्यक्रमले बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने भएकाले निरन्तर सञ्चालन गरिनुपर्ने बताउनुभयो। उहाले बालमैत्री तथा व्यवहारिक शिक्षा दिने यस्ता गतिविधिको प्रशंसा गर्दै विद्यार्थीको आत्मविश्वास र सामाजिक व्यवहार विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
यसैगरी विद्यालयको सहायक प्रधानाध्यापक रोजि गुरुङले “आफ्नो काम आफैं गर्नुपर्छ” भन्ने सोचको विकास गराउन यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताउनुभयो।
स्थानीय स्काउट कार्यालय देवदह नगर समिति सदस्य सुरज भट्टराईले प्रकृतिसँग नजिकिएर सिकाइ गर्ने अवसरले बालबालिकाको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम अन्तर्गत कुकिङ प्रतियोगिता समेत आयोजना गरिएको थियो। स्काउट मास्टर पूजा बोहराका अनुसार बालबालिकालाई माटोसँगको सामिप्यता, श्रमको सम्मान र आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो।
सोही अवसरमा सहभागी विद्यार्थीहरूलाई प्राथमिक उपचार (फर्स्ट एड) तथा स्कार्फको सही प्रयोग सम्बन्धी व्यवहारिक तालिम पनि प्रदान गरिएको थियो। तालिमका क्रममा विद्यार्थीहरूले घाइतेको प्रारम्भिक हेरचाह, आपतकालीन अवस्थामा तत्काल सहयोग गर्ने तरिका तथा आधारभूत जीवनरक्षा सम्बन्धी सीप सिकेका थिए। प्रशिक्षक अमृत बिक र नेहा सुवेदीले सहजीकरण गर्नुभएको थियो।
विद्यालयले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा स्थानीय स्काउट कार्यालय देवदह नगर समिति सदस्य दिल कुमार बिक, अर्जुन गौतम, स्काउट शिक्षक अस्मिता नेपाली, शिक्षकहरु सिम्रन पाठक, देवी पौडेल, रक्षा हमाल, जमुना भुषाल, कमल संजाली लगाएतको उपस्थिति रहेको थियो।