'नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा'

२५ मिनेट अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित सातजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

रूपन्देहीको सियारी गाउँपालिका वडा नं. २ का मृतक बेलर कहारको नाममा रहेको जग्गा फर्जी कागजातका आधारमा अन्य व्यक्तिको नाममा कायम गरेको उजुरीमाथि अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो।

आयोगका अनुसार मालपोत कार्यालय रूपन्देही, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा र खरिदार अजित कुमार साहनीको मिलेमतोमा उक्त अवैध कार्य भएको पाइएको छ ।

त्यसैगरी सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष राम किशन थारू, वडा सदस्य वृजनारायण यादव र मृतकका भाइ भनिएका बुद्धिराम कहारले आपसी योजनामा मृतक बेलर कहारको वास्तविक हकवाला छोरी सन्जु कहारको हक मेट्ने बदनियत राखेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा बुद्धिराम कहारलाई मृतकको भाइ प्रमाणित गर्ने नाता प्रमाणित, सर्जमिन मुचुल्का र चारकिल्ला प्रमाणितलगायतका कागजातहरू नक्कली भएको पाइएको छ ।

जिल्ला अदालत रूपन्देहीले समेत ती कागजातहरू फर्जी ठहर गरी बदर हुने फैसला गरिसकेको अवस्थामा साविक मैनहिया गाविसका विभिन्न कित्ताका कुल २ बिघा ५ कट्ठा जग्गा बुद्धिराम कहारको नाममा दाखा गर्ने निर्णय गरिएको थियो ।

सरकारी अभिलेखमा समेत झुट्टा विवरण प्रविष्ट गरी गलत स्रेस्ता र पुर्जा जारी गरेको तथ्य पुष्टि भएपछि आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।

आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र मालपोत अधिकृत भूमिश्वर ढकाललाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ ।

त्यस्तै, नायब सुब्बा राजु शर्मा, खरिदार अजित कुमार साहनी र वडा अध्यक्ष राम किशन थारूलाई गलत लिखत तयार गरेको अभियोगमा थप सजायको माग गरिएको छ भने वडा सदस्य वृजनारायण यादवउपर पनि कैद र जरिवानाको दाबी गरिएको छ ।

नक्कली हकवाला बनेका बुद्धिराम कहारलाई मुख्य कसुरदार सरह नै सजाय हुनुपर्ने मागसहित आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा

आज अपराह्न ४ बजेदेखि तीव्र हावाहुरी: धेरै प्रदेशका जिल्ला प्रभावित हुने