बुटवल । रुपन्देहीको देवदहमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको देवदह ईकाइ गठन भएको छ । स्थानीय शैक्षिक ब्यक्तित्व होमनाथ ढुङ्गानाको सभापतित्वमा प्रतिष्ठानको देवदह ईकाइ गठन भएको हो । समितिको सचिवमा छमबहादुर अधिकारी (सुरेन्द्र), कोषाध्यक्षमा गोमा बस्याल, सहायकसचिवमा मुन्नी न्यौपाने चुनिनु भएको छ । य
स्तै सदस्यहरुमा गोविन्द ज्ञवाली, डा. कृष्ण गैरे, भगवती शर्मा तिवारी, गोमु विक चुनिनु भएको हो । ईकाइको बरिष्ठ उपसभापति, उपसभापति र सहायक कोषाध्यक्षलाई पछि मनोनयन गर्ने गरि ११ सदस्यीय ईकाइको तदर्थ समिति गठन गरिएको देवदह ईकाइ सभापति ढुङ्गानाले जानकारी दिनुभयो । यसैबीच समिति गठन पुर्व रुपन्देहीका सभापति बोनीन पियाले पछिल्लो समय हृदयरोगका समस्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै जिल्ला र पालिकामा गठन गरिने प्रतिष्ठानका जिल्ला र ईकाइ समितिले मुटुरोग सम्वन्धि सचेतनावृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले अहिलेको खानपान र जीवनशैलीका कारण नसर्ने रोगको समस्या बढ्दै गएकाले यस बारेमा सचेत रहनु नै उत्तम हुने बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका पुर्वमेयर हिराबहादुर खत्रीले दिनप्रतिदिन बढ्दै गएको हृदयरोगको जोखिम कम गर्न तथा सचेतना वृद्धि गर्न प्रतिष्ठान सहयोगि बन्दै आएको बताउनुभयो । उहाँले देवदहमा प्रतिष्ठानको ईकाइ समिति गठनसँगै मुटुरोग र यसका कारण हुने समस्या र जटिलतालाई कम गर्नकालागि महत्वपुर्ण भुमिका खेल्ने विचार राख्नुभयो । कार्यक्रममा प्रतिष्ठानका रुपन्देही बरिष्ठ उपाध्यक्ष काजीमान श्रेष्ठ, सचिव राजेन्द्र कार्की, सदस्य अभिषेक भारी, रामबहादुर गुरुङलगायतले ईकाइमा चुनिनु भएका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै सफल र उदाहरणीय कार्यकालका लागि शुभकामना दिनुभयो । शनिबार देवदहको खैरेनीमा बसेको स्थानीय समाजसेवी, शिक्षाप्रेमी, चिकित्सक, ब्यवसायी, अधिवक्ता, संचारकर्मीहरुको भेलाले ईकाइ समिति गठन गरेको सचिव छम बहादुर अधिकारी (सुरेन्द्र) ले जानकारी दिनुभयो ।