देवदह — रुपन्देही–१ अन्तर्गत देवदह नगरपालिका वडा नं. ९ र १० मा आज घरदैलो कार्यक्रममा नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेले देवदहलाई पर्यटकीय हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले देवदहको दक्षिणदेखि उत्तरसम्म सबै क्षेत्रलाई जोड्ने पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिमा लगानी वृद्धि तथा युवायुवतीका लागि रोजगारी सिर्जना गर्ने योजना रहेको बताउनुभयो। देवदह–१० चरङ्गे क्षेत्रलाई पहाडसँग जोडिएको भौगोलिक अवस्थाका कारण पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण कार्य अगाडि बढाइने उहाँको भनाइ थियो।
घरदैलोका क्रममा उहाँले सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्दै लोकतन्त्रलाई अझ सुदृढ र उन्नत बनाउँदै समाजवाद उन्मुख समृद्ध समाज निर्माण गर्ने एजेन्डा नेकपा एमालेसँग रहेको उल्लेख गर्नुभयो। साथै, देवदह गौतम बुद्धको मावली घरका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक क्षेत्र भएकाले पर्यटन प्रवर्द्धनमार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने योजना अघि सार्नुभयो।
कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी, निवर्तमान सांसद तथा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा, केन्द्रीय अनुशासन आयोग सचिवालय सदस्य डा. कृष्ण न्यौपाने, प्रदेश सदस्य माननीय जानकी न्यौपाने, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।