सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका-३ दोभान स्थित निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ ।
१५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङ वाल लगायतका संरचना निर्माण भैरहेका छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ ।
पहिरो तथा ढुङ्गा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिनेछ ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजनास्थल पुगेका भौतिक पुर्वाधार तथा उर्जा मन्त्री कुलमान घिसिङले आयोजना र निर्माण व्यवसायी बीच निर्माण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुङ्ग्याउन निर्देशन दिए ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २०७८ फागुन २५ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम २०८३ चैत भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्नेछ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ ।यो परियोजना नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो ।
सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदमा समेत ढुङ्गा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ । उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।