'बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि–प्रविधि तथा पर्यटन महोत्सव शुरु'

४ महिना अगाडि

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि–प्रविधि तथा पर्यटन महोत्सव–२०८२ बिहिबारदेखि शुरू भएको छ । पौष ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले देशको विद्यमान राजनीतिक तथा आर्थिक संकट समाधानका लागि निर्वाचनबाहेक अर्को विकल्प नरहेको स्पष्ट पारे । निर्वाचनको विकल्प खोज्नु देशलाई थप अनिश्चिततातर्फ धकेल्ने भन्दै राजनीतिक स्थिरताविना आर्थिक सुधार सम्भव नहुने उनको भनाइ थियो । निर्धारित समयमा निर्वाचन गरिनुपर्ने विषयमा छिमेकी देशसहित धेरै पक्ष सकारात्मक रहेको उनले बताए । अर्थमन्त्री खनालले हाल लगानीको वातावरण बिस्तारै सुधार हुँदै गएको दाबी गर्दै कम मूल्यवृद्धि, मुद्रा सञ्चिति वृद्धि र वित्तीय क्षेत्रमा पूँजी संकलन बढ्नु सकारात्मक संकेत भएको उल्लेख गरे । यद्यपि अपेक्षित रूपमा लगानी विस्तार हुन नसकेको स्वीकार गर्दै सरकार–निजी क्षेत्र सहकार्यमा राहत कार्यक्रम अघि बढाइएको जानकारी दिए । साथै, संविधान संशोधनलगायत परिमार्जनका विषय निर्वाचनपछि आउने सरकारले अघि बढाउने पनि स्पष्ट पारे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संघीय सरकार र स्थानीय तहबीच समन्वय कमजोर हुँदा विकास बजेट फिर्ता जाने अवस्था सिर्जना भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्रदर्शनीमा करिब ५ सय स्वदेशी उद्योगको सहभागिता रहने जानकारी दिए । करिब आठ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य लिइएको बताउँदै मेलाबाट बचत हुने रकम सामाजिक कार्यमा खर्च गरिने उल्लेख गरे । उनले मेला सफल पार्न सबै संघ–संस्था र सरोकारवालालाई सहयोग गर्न आग्रह गरे ।

यसै अवसरमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार बाट पत्रकार प्रकाश आचार्य सम्मानित भएका छन् । अर्थमन्त्री खनालले ४८ हजार १५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित उनलाई सम्मान गर्दै औद्योगिक पत्रकारिताले उद्योग र अर्थतन्त्र प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे । उद्घाटन समारोहमा प्रदेश मन्त्रीहरू, पत्रकारहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो