काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा झडप भएको छ । झडप गर्ने समूहले सडकमा हिँड्दै गरेका एक पैदलयात्रीको हत्या गरेको छ ।
हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङ रहेका छन् । गोंगबुको कुलान्त मार्गस्थित शुभलक्ष्मी गेस्ट हाउसमा बस्दै आएका उनको दोहोरी साँझमा झगडा गरेको समूहले आक्रमण गर्दा मृत्यु भएको हो ।
दोहोरी साँझमा झगडा गरेपछि बाहिर निकालिएको समूहले पैदल हिँड्दै गरेका बबिनको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । मृतक गुरुङ्ग दोहोरी साँझको झडपमा संलग्न भने थिएनन् ।
झगडा गर्ने मध्ये हरिशरण पन्तले पैदल हिँड्दै गरेका बबिनलाई धारिलो हतियारले आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।
त्यसपथि थप उपचारका लागि भन्दै सिनाामंगल स्थित केएमसी अस्पताल लगिएको थियो । उपचारकै क्रमा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको एसपी भट्टराईले बताए ।
प्रहरीले ६ जनासहित दोहोरी सञ्चालक शिव सौगातलाई समेत पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । उनिहरुलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।