सोईया महिला स्वावलम्बी संस्थाले आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गरेको छ। संस्थाले आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित श्री कोटही आधारभूत विद्यालयकी कक्षा ९ की विद्यार्थी तथा कोटही बालक्लवकी सदस्य यतिसा थापाको परिवारलाई २ वर्षका लागि बिना ब्याज ९० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।
सहयोग रकमबाट गाई खरिद गरी दूध उत्पादन तथा बिक्रीमार्फत आम्दानी बढाउँदै २ वर्षभित्र सो रकम बिना ब्याज संस्थालाई फिर्ता गर्ने सहमति गरिएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेले विद्यालयलाई छनोट गरी सहयोग पु¥याएकोमा सोईया महिला स्वावलम्बी संस्थाप्रति आभार प्रकट गर्दै यस्तो सहयोगले विद्यार्थीको परिवारलाई आर्थिक सबलता दिलाउन मद्दत पुग्ने बताए।
त्यसैगरी देवदह–३ का वडाध्यक्ष यज्ञ अर्यालले पशुपालन एक लाभदायक उद्यम भएको उल्लेख गर्दै यस प्रकारका सहयोगले स्थानीय परिवारलाई स्थायी आय स्रोत निर्माण गर्न उत्प्रेरणा दिने बताउनुभयो। उहाले आफ्नै पशुपालन अनुभव पनि कार्यक्रमका सहभागीहरूसँग साझा गर्नु भएको थियो।
कार्यक्रममा वडासदस्य झमकुमारी थापा, संस्थाकी व्यवस्थापक मेनुका न्यौपाने, कर्मचारी एलिना हमला, पूजा बोहरा, शिक्षक तथा स्थानीय अभिभावकको उपस्थिति रहेको थियो।
सोईया महिला स्वावलम्बी संस्थाले सञ्चालन गरेको यो अभियानले आर्थिक रूपमा कमजोर परिवारलाई आयमूलक क्रियाकलापमा संलग्न गराउँदै आत्मनिर्भरता र उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ।