नेपाल प्रिमियर लिग NPL को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ ।
फ्लड लाइट र प्यारापिटसहितको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक एनपीएल हुन लागेको हो ।
त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिट्मै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरु अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपिएलको पूर्व सन्ध्यामा आइतबार साझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो ।
उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ रु एक हजार ५०० राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ ।
प्लेअफ पछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ ।
एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपिएलबाट रु ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य छ ।