थाई एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अक्टोबर २६ देखि उडान गर्ने भएको हो ।
करिब ६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ ।
भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । ‘थाई एयरले २६ अक्टोबरदेखि हप्ताको दुई उडान गर्ने गरी अनुमति लिइसकेको छ, जजिरा लगायत अन्य कम्पनिहरू पनि पाइपलाइनमा छन्’, वितारीले भने, ‘जजिराको हकमा कन्ट्री डाइरेक्टर र विमानस्थलसँग समन्वय भइरहेको छ ।’
जजिराले तिहार पछि उडान शुरु गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा गत अप्रिलमा भैरहवाबाट चारवटा विदेशी विमान कम्पनीले उडान गरेका थिए । एक महिनासम्म विमानस्थलबाट सातामा २० वटा सम्म उडान भएका थिए ।
गत अप्रिलदेखि बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडान अघिको ५ महिनामा २ सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेका थिए । त्यसयता केही चार्टर उडानहरु मात्रै भएका छन् ।
२०७९ साल जेठ २ गते २५६६ औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । उद्घाटन पश्चात नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज , थाइल्याण्डको थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यवसायिक उडान गरेका थिए ।
सरकार भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्न विभिन्न छुट सुविधाहरू प्रदान गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट दिइएको छ । साथै, दुवै विमानस्थलमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुटका साथै नेपाल एयरलाइन्सले प्रदान गर्ने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै इन्धनमा पनि सय डलर छुट दिदै आएपनि विदेशी विमान कम्पनी आकर्षित हुन सकेका छैनन् ।
व्यवसायीहरुले विमानस्थलमा आवश्यक कतिपय सरकारी कार्यालयहरु अझै स्थापना नभएका, हवाई टिकट विक्रिमा काठमाडौं केन्द्रीत व्यवसायीको एकाधिकार जस्ता कारणले अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त हुन नसकेको गुनासो गरिरहेका छन् ।