इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको दुवै पक्षले पुष्टि गरेका छन्।
युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ।
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई इजरेलको महान् दिनू भनेका छन् र हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गरेका छन्। बिहीवार बस्ने इजरेली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरेलले यसको कार्यान्वयन सुरु गर्ने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो।
इजरेल र हमासको घोषणाअघि नै ट्रम्पले सामाजिक सञ्जालमा शान्ति सम्झौता भएको दाबी गरेका थिए।