इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन ‘सकारात्मक’ माहोलमा सम्पन्न भएको इजिप्टेली अधिकारीहरूले बताएका छन्। यस वार्ताले गाजामा जारी युद्धविराम र बन्धक मुक्तिको सम्भावनामा नयाँ आशा जगाएको अलजजीराले जनाएको छ ।
नेपालका विपिन जोशीसहितका बन्धक रिहाइलाई पहिलो शर्त बनाइएको वार्तामा प्रत्यक्ष रूपमा इजरायल र हमासका प्रतिनिधिहरू एउटै कोठामा उपस्थित थिएनन्। उनीहरूबीच इजिप्ट र कतारका मध्यस्थहरूले सन्देश आदानप्रदान गर्दै वार्ता अघि बढाएका थिए । अमेरिकी अधिकारीहरू पनि अप्रत्यक्ष रूपमा वार्तामा संलग्न थिए।
इजिप्टेली कूटनीतिक स्रोतहरूका अनुसार वार्ताको पहिलो दिनमा दुवै पक्षले केही ‘साझा बिन्दुहरू’मा सहमति देखाएका छन्, विशेषगरी मानवीय सहायता गाजामा सहज रूपमा पुगोस् र बन्धक आदानप्रदान प्रक्रियामा विश्वास कायम होस् भन्ने विषयमा ।
कतार र इजिप्टले वार्ताको दोस्रो चरण शुक्रवारका लागि तय गरेको जनाइएको छ। त्यहाँ बन्धकहरूका नामसूची र सम्भावित चरणबद्ध युद्धविरामबारे छलफल हुने अपेक्षा गरिएको छ।विभिन्न चरणमा बन्दी रिहाइ हुँदा पनि विपिन जोशी भने हमासकै कब्जामा रहेको मानिएको छ ।