बुटवल, नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीका अध्यक्ष सहित पदाधिकारीहरुको सपथग्रहण तथा पदभार कार्य आज बुटवलमा सम्पन्न भएको छ । सपथग्रहण पश्चात नवनियुक्त अध्यक्ष राधाकृष्ण कडेलले लुम्बिनी प्रदेशमा नेकपा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न योजनाका साथ लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । वहाँले नेकपा एमालेका सामु अनेक चुनौती भएता पनि प्रदेशभरका नेता कार्यकर्ताहरु एकढिक्का भएर पार्टी काममा लाग्ने र आगामी तीन तहका निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने बताउनुभएको छ ।
नेकपा एमाले केन्द्रीय कमिटीको मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न बैठकबाट मनोनित भएका अध्यक्ष कडेल सहितका पदाधिकारीहरुलाई आज बुटवलमा आयोजित सपथग्रहण समारोहमा अध्यक्ष कडेलले सो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।
बुटवलस्थित पार्टी कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले प्रदेश अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिव लिला रानालाई सपथ ग्रहण गराउनुभएको थियो ।
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लिला गिरीको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज भूमिश्वर ढकालको सञ्चालनमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।
सपथ ग्रहण समारोहमा बोल्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले नेकपा एमालेको एकतावद्ध र सुदृढ संगठन देखेर अन्य दलहरु लोभिएको बताउनुभयो । वहाँले नेकपा एमालेलाई एमालेलाई आम जनताले साथ दिएका कारण गठबन्धन सहितका अन्य शक्तिहरु आत्तिएको समेत बताउनुभएको थियो ।
सपथग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कडेलको अध्यक्षतामा बसेको बैठकले यहि पौष ५ गते दाङमा प्रदेश संगठन कमिटीको पूर्ण बैठक आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा एमाले पोलिट्ब्युरो सदस्यहरु दलबहादुर राना, दधिराम न्यौपाने, बैजनाथ चौधरी, ठाकुर गैरे, खिमलाल भट्टराई, लक्षमण ज्ञवाली, खेममान खड्का, लगायत केन्द्रीय सदस्य र प्रदेश सचिवालय सदस्यहरुको सहभागीता रहेको थियो।