काठमाडौँ । नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ । आयोगले भने कानूनी प्रावधान हेरेर बिहीबार मात्रै दर्ता गर्ने जनाएको छ ।
माधव निकट नेता मेटमणि चौधरीका अनुसार विभाजित पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । साथै चुनाव चिन्ह खुला किताब राखिएको छ । नेपाल समूहकै रुपमा चिनिएका कतिपय नेताहरु भने नयाँ दल बनाउने सन्दर्भमा अझै खुलेका छैनन् । भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत दोस्रो तहका नेताहरुलेपार्टी विभाजन स्विकार गर्न नसकिने बताउँदै आइरहनुभएको छ ।
आयोगमा पठाइएको माधव पक्षको पार्टीको चुनाव चिन्ह समेत जुधेको छ । खुला किताब नेपाल उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्हसँग मिलेको आयोग निकट स्रोतले बतायो । चुनाव चिन्ह जुधेकै कारण पनि माधव नेपालले चाहेको पार्टी आज दर्ता हुन नसकेको हो । ।
नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।
दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए ।