बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको दूरगामी बचत तथा ऋण सहकारीको रकम अपचलन गरी सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक फरार भएका छन ।
सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोवाइल स्वीच अफ गरी फरार भएका छन् ।
अहिले सहकारीको कार्यालयमा उपाध्यक्ष सहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालावन्दी गरेका छन् ।
तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारीको रकम अपचलन गरी फरार भएको सुचना बाहिर आएपछी ठूलो संख्यामा बचतकर्ताहरुले बचत रकम फिर्ताको माग गर्दै निवेदन दिएका छन् । संस्थामा करिव २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशंका गरिएको छ ।
सोमबार संस्थामा भएको अनियमितताबारे छानविन गर्न छानविन समिति बनाउने र उक्त छानविन समितिलाई सघाउन स्वतन्त्र लेखापरीक्षण गर्ने निर्णय भएको थियो । तर मंगलबारको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिंडेपछि माहौल बिग्रिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले बताए । “प्रारम्भिक रुपमा हेर्दा १०–१२ करोड अपचलन भएको देखिन्छ, तर कतिपय फाइल र ऋण प्रवाह भएका कागजपत्र कमजोर देखिएकाले अपचलन भएको रकम बढ्न सक्छ”–उनले भने । माइन्यूट च्यातेर अध्यक्ष, सचिव र व्यवस्थापक हिंडेपछि बाँकी रहेका पदाधिकारीले सहकारीमा तालाबन्दी गर्ने निर्णय गरेका थिए ।
सहकारीबाट ५ लाख रुपियाँ ऋण लगेका व्यक्तिको ८५ लाखको कागजमा ल्याप्चे लगाइएको छ भने १२–१३ लाख बराबरको धितोमा ९५ लाख रुपियाँ ऋण प्रवाह गरेको समेत देखिएको छ ।
त्यस्तै शेयर सदस्य नै नभएका व्यक्तिको जग्गा धितो राखेर लाखौं रकम कर्जा प्रवाह गरेको समेत भेटिएको छ । उक्त सहकारीको कुल पुँजी ३८ करोड रुपियाँ छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कल्याण पौडेलले सहकारीबाट २२ देखि २५ करोड रुपियाँ बचत अपचलन भएको देखिएकाले बताए । अध्यक्ष, सचिव र व्यवस्थापक भागेपछि बाँकी सञ्चालक समिति र वडा कार्यालयकै रोहबरमा थप हिनामिना हुन नदिन संस्था शिल गरिएको उनले जानकारी दिए । ‘राम्रो चलेको सहकारी थियो । तर, भित्रभित्रै अनियमितता भएको रहेछ, केही दिनअघि सञ्चालक समितिको बैठकले सबैले धितो दिने र अध्यक्षले रकम निकालेर बचतकर्ताको रकम फिर्ता दिने सहमति गरेर उठेका रहेछन्, अध्यक्ष सचिवले त्यो समझदारी मंगलबार च्यातेर सम्पर्कविहीन भएको सूचना पाएपछि प्रहरीसँग सहयोग माग्यौं’, वडाध्यक्ष पौडेलले भने ।
सहकारीमा करिव १९ सयको हाराहारीमा शेयर सदस्य रहेका छन् । त्यसमध्ये ११ सय ऋणी र ९ सय बचतकर्ता छन् ।