बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि नगर गान तयार गरेको छ।
खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो।
१४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो।
सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताए। नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन्।
बुधबार शुरु भएको सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगर बनाउनका लागि हरेक क्षेत्रको समानुपातिक विकासमा जोड दिएको बताए। उनले जनतासँग गरेका वाचाहरु पूरा गर्नका लागि सबै जनप्रतिनिधिहरु एकसाथ अगाडि बढिरहेको बताए। उनले नगरको विकासमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सबैको साथ जरुरी रहेको बताए।
नगर सभाको बुधबारको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ संसोधनको प्रस्ताव टेबुल गरेकी छिन् भने सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण गौशाला सञ्चालन ऐन संसोधन प्रस्ताव टेबुल गरेका छन्।