गुल्मी : गुल्मीको सिमीचौरमा २०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा सिभिल निर्माणको काम सकिएको रेसुङ्गा विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियाले बताउनु भयो । विमानस्थल निर्माण भइसके पनि अहिलेसम्म विमान सेवा भने सञ्चालन हुनसकेको छैन ।

३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न गरिएको यो विमानस्थलमा सम्पूर्ण पुर्वाधार तयार भएर रङरोगन गरिसकिएको छ।
गुल्मीबाट प्रतिनिधी सभा संसद तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रदीप ज्ञवालीबाट शिलान्यास भएको यो विमानस्थलको निर्माणको काम २०७२ सालपछि मात्र सुरु भएको थियो ।

विमानस्थल धावन मार्गको ५२० मिटर लम्बाइ र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा विमानस्थल छ । विमानस्थल निर्माणका लागि मुआब्जा दिने गरी १४ घरबस्ती विस्थापित र २८ घरपरिवारको जग्गा अधिग्रहण गरिएको छ ।
२०७५ साल जेठ २५ गते तारा एयरले सफल परीक्षण उडान गरेको रेसुङ्गा विमानस्थलमा अहिलेसम्म व्यावसयिक उडान हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले दुर्गममा उड्ने जहाजको सङ्ख्या नै कम भएका कारण नियमित उडान गर्न नसकिएको बताउनुभयो । निजी विमान सेवा कम्पनीले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।

यो वर्ष रेसुङ्गा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उहाँले निजी कम्पनीसँग नियमित उडानको विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि २०७६ चैत ४ गते चार करोड पाँच लाख २९ हजार रुपियाँमा ठेक्का सम्झौता भएको हो । निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले आफूहरूले सम्झौताअनुसार काम गरेर बुझाएको बताउनुभयो ।