'देशभरका दर्जन बढी ठाउँका मतदान केन्द्रमा झडप'

४ वर्ष अगाडि

 बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।

दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

पोखरामा सत्तारुढ गठबन्धनले मतदातालाई चिट बाँडेपछि होहल्ला भएको छ ।

पोखरा उपमहानगरपालिका– १६ का तीनवटा मतदान केन्द्रमा सत्तारुढ गठबन्धनका कार्यकर्ताले लाइनमा बसेका मतदातालाई स्वस्तिक छाप लगाएको चिट बाडेपछि नेकपा एमालेका कार्यकर्ताले आपत्ति जनाएको हो । चिट बाँड्ने एक युवकलाई एमाले कार्यकर्ताले लखेटेपछि सशस्त्र प्रहरी बलले उनलाई नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो ।

रामेछापको रामेछापको सुनापति गाउँपालिका २ दिमी पोखरीमा अझै मतदान सुरु हुन सकेको छैन ।

त्यहाँ बिहानैदेखि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद भएकाले मतदान सुरु हुन नसकेको प्रहरीले जनाएको छ ।

रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन ।

जिल्लाका अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएपनि पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर २ को प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा भने अझै मतदान सुरु हुन नसकेको रुकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार पेल्मामा २९ गते बिहीबार साँझ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच झडप भएको थियो । झडपपछि नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता घाइते भएको भनेर हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने माग राखेको थियो ।

दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ ।

ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुबनेश्वर प्रसाद शाहले जानकारी दिए ।

बाराको सिम्रौनगढ नगरपालिका-२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको थियो ।

काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ ।

एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले बताए ।

गोरखा को गण्डकी गाउँपालिका-७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
ज्ञानमार्ग माविको मतदान केन्द्र ‘ख’मा कांग्रेस र माओवादी कार्यकर्ताले मतदानस्थलको बार पनि भत्काएका छन् । विवादका कारण केही समय मतदान प्रक्रिया पनि स्थगित भएको ‘क’ मतदान केन्द्रका सहायक निर्वाचन अधिकृत विमल रेग्मीले बताए ।

सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो