रुपन्देहीको देवदहमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न गरिएको छ। देवदह नगरपालिका कृषि शाखाको आयोजनामा र वडा नं ३, सेमरहानास्थित थारु कल्याणकारिणी महिला कृषक समूह तथा मिलीजुली कृषक समूहको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त अवसरमा नगरप्रमुख ध्रुवप्रसाद खरेलले कृषिको समुन्नत विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगमार्फत कृषि पद्धतिमा परिवर्तन ल्याई उत्पादन वृद्धि गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार खाद्य सुरक्षाको सुनिश्चितता र आत्मनिर्भरता हासिल गर्न परम्परागत विधिलाई छोडेर प्रविधिमैत्री कृषि प्रणाली अपनाउन जरुरी छ।
नगरप्रमुख खरेलले उत्पादन लागत घटाउँदै बाझो जमिनलाई उत्पादनशील बनाउने अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। साथै, नगरपालिकाले कृषि पकेट क्षेत्र निर्धारण गरी योजनाबद्ध ढंगले खाद्य उत्पादन बढाउने कार्यलाई तिव्रता दिएको जानकारी समेत दिनुभयो।
कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले धान दिवसको महत्वबारे जानकारी दिँदै, नेपालमा धान मुख्य खाद्यान्न बाली भए पनि खाद्य क्षेत्रमा अझै आत्मनिर्भर बन्न नसकेको उल्लेख गर्नुभयो। उहाँले कृषिमा प्रविधिको प्रयोग र उत्पादन लागत घटाउने उपायहरूप्रति कृषकको ध्यान केन्द्रित गरिनु पर्ने बताए।
कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कृषि प्राविधिक पविन्द्र मल्लले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, स्थानीय कृषक तथा कर्मचारीको उल्लेख्य उपस्थिति रहेको थियो।