'सुन प्रदशनिले निम्त्याएकाे विवाह विकृती : अर्चना घिमिरे'

१ वर्ष अगाडि

विवाह प्रेम, विश्वास, समझदारी र सहकार्यको पवित्र बन्धन हो। तर हाम्रो समाजमा विवाह भनेको सुन, उपहारको रूपमा दिइने दाइजो र छिमेकीलाई सानको रूपमा देखाउने ‘ग्रान्ड सेलिब्रेसन’ बनेको छ। आफूसँग के छ, के छैन, त्यसको मतलब हुँदैन; ऋण काढेर भए पनि छिमेकलाई देखाउने गरी विवाह भव्य बनाउने परम्परा जस्तो बसिसक्यो।

अझ विवाह हो कि सुन, दाइजो र तामझामको प्रदर्शनी मेला बुझ्नै गाह्रो। विवाह गर्ने तयारी कम, बेहुला बेहुलीको परिवारबिच ‘तिम्रो कति सुन?’ र ‘तिम्रो कति दाइजो?’ भन्ने प्रश्नहरू पनि बढी चल्छन्। बेहुला पक्षले सुटुक्क सोधिहाल्छ– ‘भन्न त नपरोस् तर बेहुलीले के-के ल्याउली त?’

बेहुला पक्षबाट गहना रूपमा कति सुन आयो भनेर चर्चा चल्छ। तर एउटा नारीले आफू हुर्किएको आँगन, हिँडेको बाटो, ओत लागेको घर, आँसु ओभाउन अडेस लागेको छाती, आफ्नो जम्न दिने आमा बुवालाई छोडेर के-के गुमाएर जाँदै छिन् र एउटा पुरुषले अरूकी छोरीलाई आफ्नो घरमा ल्याउन र समाजमा इज्जत राख्न विवाह सम्पन्न गर्न गरेको मेहनत देखिँदैन।

दुलाहा-दुलही र दुवै परिवारको सहकार्यमा गरिने विवाहमा समाजको डरले केटा पक्ष र केटी पक्षलाई थप दबाब दिन्छ। समाजमा अरूले के भन्ला भन्ने डरले ऋण काढेर भए पनि सजावट, खानपिन, बाजा आदिको भव्य व्यवस्था मिलाउने होडबाजी चल्छ। छिमेकीले सुटुक्क भन्छन्– ‘अघिल्लो घरले यस्तो गर्‍यो, हामी त अब त्योभन्दा राम्रो गरौँला।’

अनि ऋणको बोझ सुरु हुन्छ। विवाहअघि लिइएको ऋणको बोझ विवाहपश्चात् केटा र केटी दुवैको ‘पहिलो गृहस्थीको उपहार’ बन्छ। यस्तो भव्य विवाह गरेर देखाउनु मात्रै होइन; बिहेपछिको घर चलाउने जिम्मा त बेहुला–बेहुलीकै हुन्छ। ऋण तिर्दा यो जिन्दगीको सहयात्रा के होला भन्ने कुरा बिर्सिँदै गयौँ।

एक पटक बिहे गरेर वर्षौँ वर्ष ऋण झेल्ने र ऋणकै गर्तमा बाँचिरहने दुःख पनि सुरु भएको छ। समाजमा। हामीले विवाह प्रेम, समझदारी र सहकार्य मुख्य कुरा हो भन्ने कुरा बिर्सिँदै गयौँ।

सामाजिक दबाब र प्रतिस्पर्धा प्रवृत्तिहरूले मानिसलाई आफ्नो आर्थिक क्षमताभन्दा माथि जान बाध्य पार्दछन्। कहिलेकाहीँ त यसरी विवाहको खर्च लिइएका ऋणको बोझ पछि जीवनभर झेल्नुपर्ने समस्या बन्छ। विवाहमा एकल जिम्मेवारी निभाउने कुरा दुई परिवार बिचको समझदारी र सहकार्यबाट उत्पन्न हुने भावनात्मक सहयोगभन्दा बढी ‘कति पैसा खर्च भयो?’ भन्ने चिन्ता प्रकट गर्न थालिन्छ। यसले दुलाहा र दुलही दुवैलाई नै मानसिक दबाबमा पुराउँछ र विवाहको वास्तविक उद्देश्यलाई हराउँछ।

अझ विवाह गर्ने योजना बनाउँदा बढ्दै गइरहेको सुनको मूल्यले अब त सुन किनेर विवाह गर्न पनि नसकिने भयो भनेर हामी गम्भीर रूपमा चिन्ता प्रकट गर्छौँ तर सुन नलाए पनि विवाह सम्पन्न गर्न सकिन्छ भनेर सोच्दैनौँ। दाइजोको रूपमा दिइने उपहार बिना पनि त विवाह हुन सक्छ नि भनेर विचार गर्दैनौँ। कुनै नीति, नियम, कानुन, संविधानमा विवाहमा सुन, दाइजो अनिवार्य चाहिन्छ भनेर लेखिएकोको त छैन नि?

जमाना जतिसुकै आधुनिक भए पनि सादा जीवनमा रमाउने मान्छे म अनावश्यक देखावटी तकजक ठिक लाग्दैन। कहिलेकाहीँ विवाहमा अरूले गरेको खर्च देख्दा आश्चर्य लागेर आमालाई सोध्ने गर्छु, ‘आमा, हजुरको पालामा पनि विवाह यसरी नै हुन्थ्यो?’

आमाले हाँसेर भन्नुहुन्थ्यो, ‘छोरी, तिम्रो बुवाले माग्न आउनु भएको दिन नै घरको सबै परिवार भेला भएर एउटा मन्दिरमा हाम्रो विवाह भएको थियो। अहिलेको जस्तो मेहेन्दी, हल्दी, इन्गेजमेन्ट, प्रचलन थिएन। तर पनि हाम्रो जीवन आनन्दपूर्वक चलेकै छ। अहिले त के-के आयो आयो।’

जीवनमा एक चोटि गरिने विवाह तथा स्मरण पललाई भव्य साथ आफ्नो सबै रुचि पूरा गरेर गर्नु गलत पनि होइन। तर मानिसले घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने आहान त्यसै स्थापित भएको होइन। आफ्नो क्षमताभन्दा माथि गएर ऋण लिएर समाजले के भन्ला भन्ने डरले वा अरूलाई देखाउन भए पनि आफ्नो आर्थिक स्थिति कमजोर हुँदा हुँदै भव्य तरिकाले गर्नु एकदमै गलत हो।

यदि बेहुली पक्षबाट सुनको माग र बेहुला पक्षबाट दाइजोको माग नहुनु हो भने विवाहको नाममा आएको अनावश्यक विकृति स्वतः अन्त्य हुँदै जान्थ्यो। बेहुला बेहुलीले विवाह गर्दा यो कुरा बुझ्न एकदमै आवश्यक छ कि क्षणिक रमझमले भविष्यमा पूरा परिवारलाई ऋणको बोझ थपिने गर्छ।

समाजमा रहेर समाजको डर मान्नु पर्छ तर समाजमा विकृतिले जरा गाड्न थालेको छ र संस्कारको नाममा अर्को विष वृक्ष हुर्कँदै छ भने त्यसलाई निर्मूल पार्नु पनि हाम्रो कर्तव्य हो। होला कठिन समाजमा फैलिएको विकृति छिटो निराकरण गर्न तर हामी स्वयम आफूले विकृति हटाउन कदम चाल्ने हो भने असम्भव पनि छैन।

समाजमा विवाहको नाममा सुन, दाइजो र देखावटी तामझामले ल्याएको विकृति हटाउनका निम्ति विवाहलाई प्रेम, विश्वास, समझदारी र सहकार्यको पवित्र साइनो रूपमा मात्र लिएर समाजमा केही मानिसहरू सादा रूपमा सुन र दाइजो बेगर पनि विवाह सम्पन्न गर्दै आएका छन्। अब हामीले आ-आफ्नो ठाउँबाट आफू चेतनशील रही समाज परिवर्तन गर्न पाइला चाल्न आवश्यक छ।

-खाेटाङकी लेखक घिमिरे काठमाण्डाैमा बस्दै अध्यायन संगै समसामुहिक विषयमा कलम चलाउने गर्नुहुन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान