रोटरी क्लब अफ देवदहले आफ्नो सिस्टर क्लब रोटरी क्लब अफ चेन्नई हलमार्कको सहयोगमा रु. १० लाख बराबरको विपद् पूर्वतयारी तथा राहत सामग्री आज जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा हस्तान्तरण गरेको छ।
नेपालमा भोटेकोशी क्षेत्रमा देखिएजस्ता बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने र विपद् प्रतिकार्यलाई सहज बनाउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो।
विपद् आइपरेपछि मात्र राहत जुटाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै आवश्यक सामग्री पूर्वतयारी अवस्थामा राख्न यस सहयोगले योगदान पुर्याउने अपेक्षा गरिएको छ। हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारी, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, क्लबका चार्टर प्रेसिडेन्ट जयकिशन अधिकारी, निवर्तमान अध्यक्ष दोलराज न्यौपाने (अर्जुन), क्लब सचिव रामचन्द्र उपाध्याय, क्लबका संस्थापक सदस्य खेम चापागाईं तथा सदस्य प्रवीण थारूलगायतको उपस्थिति रहेको थियो।
हस्तान्तरण गरिएका सामग्रीमा १०० थान टेन्ट तथा टेन्टका आवश्यक सामग्री, १०० थान शव कभर, १०० थान सुत्ने म्याट, १०० थान ब्ल्याङ्केट, २०० थान तौलिया, २०० थान लगाउने कपडा, १०० थान सलाई र १०० थान मैनबत्ती रहेका छन्। रोटरी क्लब वअफ देदहले आफ्नो सिस्टर क्लब रोटरी क्लब अफ चेन्नई हलमार्कप्रति सहयोगका लागि आभार व्यक्त गर्दै विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन र मानवीय सेवाका कार्यलाई प्रभावकारी बनाउन यस्ता सहकार्य महत्त्वपूर्ण हुने जनाएको छ।
यस सहयोगले विपद्का समयमा आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा प्रभावित नागरिकलाई समयमै राहत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिइएको छ।