देवदह। १८औँ राष्ट्रिय ग्रामीण महिला दिवसको पूर्वसन्ध्यामा बिउँझिएका नेपाली गाउँले महिला सञ्जाल, रुपन्देहीको आयोजनामा रजोनिवृत्तिसम्बन्धी सचेतना तालिम देवदहमा सुरु भएको छ। तालिमको पहिलो दिन आज देवदह नगरपालिका वडा नं. ७ र ८ का महिला दिदीबहिनीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो। तालिम भोलि देवदह नगरपालिका वडा नं. ३ र ४ का महिला दिदीबहिनीहरूका लागि सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको उपप्रमुख विद्या लक्ष्मी गुरुङले रजोनिवृत्तिबारे महिलाहरूमा सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाले ग्रामीण क्षेत्रमा महिलाहरूले रजोनिवृत्तिका क्रममा भोग्नुपर्ने विभिन्न शारीरिक तथा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने चुनौतीबारे जानकारी हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन हुँदै आए पनि यस्ता सचेतनामूलक कार्यक्रम टोलटोलसम्म पुर्याउन आवश्यक रहेको उहाको थियो। कार्यक्रममा सहभागी महिलाहरूले तालिमबाट सिकेका ज्ञान र जानकारी आफ्ना समूह तथा समुदायमा पुगेर अन्य महिलाहरूसँग पनि साझा गर्ने अपेक्षा व्यक्त गर्दै उहाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। साथै, आउँदै गरेका चाडपर्वको समेत शुभकामना व्यक्त गर्नुभएको थियो ।
तालिमका क्रममा प्रशिक्षक सोना न्यौपानेले रजोनिवृत्ति भनेको के हो, सामान्यतया कुन उमेरमा हुन्छ, यस अवधिमा महिलाको शरीरमा देखिने हर्मोनसम्बन्धी परिवर्तन, महिनावारी बन्द हुने प्रक्रिया तथा त्यससँग सम्बन्धित शारीरिक र भावनात्मक परिवर्तनबारे जानकारी गराएका थिए। त्यसैगरी, रजोनिवृत्तिका समयमा देखिन सक्ने तातो महसुस हुने, राति पसिना आउने, निद्रामा समस्या हुने, थकान, मनमा बेचैनी तथा हड्डीको स्वास्थ्यमा पर्न सक्ने असरबारे चर्चा गरिएको थियो। प्रशिक्षकले यस अवधिमा सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, पर्याप्त आराम, व्यक्तिगत स्वास्थ्यको हेरचाह तथा आवश्यकताअनुसार स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्ने विषयमा समेत सहजीकरण गर्नुभएको थियो। रजोनिवृत्ति महिलाको जीवनमा हुने प्राकृतिक प्रक्रिया भएकाले यसलाई लाज वा संकोचका रूपमा नलिई खुलेर छलफल गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष्य हरी प्रसाद पाण्डेय, वडा नम्बर ८ को वडा सदस्य झपिन्द्र बिक, वडा ७ का वडा सदस्य हुमा रेग्मी, संस्थाका केन्द्रिय अध्यक्ष्य सिता पोख्रेल, विभिन्न समितिका पदाधिकारीहरु लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम ब्युँभिएका नेपाली गाउँले महिला सञ्जाल, रुपन्देहीको उपाधक्ष्य देवु भट्टराईको अध्यक्षता, सचिव सरस्स्वती थापाको स्वागत र केन्द्रिय महा सचिव सरस्वती पोखरेलको सञ्चालनमा सम्पन भएको थियो।