नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन् ।
असोज २६ गते बिहान करिब ७ः३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु।प्र।०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । बसमा करिब ४० देखि ४५ जना सवार रहेको बताइएको छ ।
दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ । घाइतेमध्ये अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको छ ।
घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी र ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का, गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय बसचालक इन्द्र वि।क। र गोदावरी नगरपालिका–१ का ४६ वर्षीय सहचालक मोहन जोशी रहेका छन् ।
बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३९ जी २८७६ नम्बरको ट्रकमा समेत सामान्य ठक्कर लागेको छ । ठक्करका कारण ट्रकको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा रहेको छ ।