रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले आफ्नो २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभकान्त न्यौपानेको अध्यक्षता तथा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएको विद्यालयले उत्कृष्ट नतिजासहित प्रतिभावान विद्यार्थी उत्पादन गर्दै आएको बताउनुभयो। शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालय उत्कृष्ट रहेको उल्लेख गर्दै उहाँले अभिभावकलाई घरबाटै राम्रो अध्ययन वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो। बालबालिकालाई मोबाइलमा निर्भर गराउनु भन्दा समय दिनु आवश्यक रहेको बताउँदै विद्यालयमा बेलाबेलामा उपस्थित भई सुझाव दिन पनि अभिभावकलाई अनुरोध गर्नुभयो। उहाँले शिक्षकहरूलाई सबै विद्यार्थीलाई समान व्यवहार गर्न र घोकन्ते शिक्षाभन्दा विद्यार्थीको भावना बुझेर अध्यापन गर्न आग्रह गर्नुभयो। शिक्षाको विकासले नै समग्र देशको विकास सम्भव हुने उल्लेख गर्दै स्थानीय तहले शिक्षालाई उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो।
विद्यालयका प्रिन्सिपल कृष्ण गैरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई समुदायकै उत्कृष्ट शिक्षण संस्थाको रूपमा विकास गर्ने योजना अघि सार्नुभयो। उहाँले गुणस्तरीय शिक्षासँगै सीपमूलक, अनुशासनयुक्त तथा संस्कारयुक्त शिक्षण–सिकाइलाई प्राथमिकता दिँदै नयाँ कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो।
सो अवसरमा पूर्व तथा वर्तमान शिक्षक–कर्मचारी, अभिभावक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने विद्यार्थीले आ-आफ्नो प्रतिभा देखाएका थिए ।
कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी तथा विद्यार्थी प्रतिनिधि आरुष लामिछाने र प्रतिका थापाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक ढुण्डीराज मरासिनी, अस्मिता नेपाली र कविता न्यौपानेले गर्नुभएको थियो।