लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परिवर्तनलाई आत्मसाथ गर्न अनुरोध गरेका छन ।
आचार्यले मुलुकमा केहिपनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै पत्रकारिताले यसलाई सत्यतथ्यरुपमा चिर्न आवश्यक भएको बताएका हुन ।
सार्वजनिक सेवा प्रशारण नेपाल एनटिभि कोहलपुरको २९ औं वार्षिकोत्सव समारोहलाई मङ्गलबार कोहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विगत र अहिलेमा विकास लगायत सम्पूर्ण हिसावले परिवर्तन भएकाले वास्तविकता जनतामाझ ल्याउन राज्यको चौँथो अङ्गको रुपमा रहेको पत्रकारिता जगतले सहयोगी भूमिका निर्वाह गर्न सुझाव दिए।
मुख्यमन्त्री आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको छ पत्रकारिता जगत पनि समाज परिवर्तनमा जिम्मेवार बन्नुपर्ने देखिन्छ ।’ उहाँले स्वच्छन्दता र अराजकता पत्रकारिताका लागि पनि हितकर नभएको बताउदैसञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा होइन, परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । मुख्यमन्त्री आचार्यले थपे, ’हामीले चौथो अंगको रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौं । तर, आज सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति देखिन थालेको छ । यसले समाजमा अराजकता र अस्थिरता थप्न सक्छ । यसकारण मिडियाले सत्य, तथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ ।
प्रदेश सरकार सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै, पत्रकारिता कल्याणकारी कोष, उपकरण विमा, विद्युत महशुलमा अनुदान, छात्रवृत्ति लगायतका कार्यक्रम अगाडि सारिएको जानकारी दिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले प्रदेशको समग्र विकासमा सञ्चारमाध्यमको सहकार्य महत्वपूर्ण भएको बताएका थिए । एनटिभिलाइ सञ्चार क्षेत्रको ब्राण्डको रूपमा बुझ्ने गरिएको बताउँदै आगामी बर्षका लागि योजनासहित दोब्बर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमलाइ प्रदेशसभा सदस्य तथा पूर्व मन्त्रीहरु रत्नबहादुर खत्री,दुर्गाप्रसाद चौधरी, भण्डारीलाल अहिर,प्रदेश सभा सदस्यहरु सञ्जु चौधरी, अम्बिका काफ्ले, मिनाकुमारी श्रेष्ठ, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं लगायतकाे उपस्थिती रहेकाे थियो ।