देवदह । रुपन्देहीको देवदहमा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभामा आर्थिक पारदर्शिता, सुशासन र सदस्यप्रतिको जवाफदेहितालाई मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।
सहकारीका सदस्यले आफ्नो बचतको सुरक्षा, संस्थाको वित्तीय अवस्था तथा सञ्चालक समितिको कार्यसम्पादनबारे नियमित जानकारी राख्दै खबरदारी गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
साधारणसभाको मूल समारोहमा प्रमुख वक्ताका रूपमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का पूर्ववरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता प्रशिक्षक दामोदर अधिकारीले सहकारीका सदस्य संस्थाका मालिकसमेत भएकाले संस्थाको गतिविधिबारे जानकार रहनुपर्ने बताए।
उनले बढी ब्याज दिने प्रलोभनमा परेर मात्र सहकारीमा बचत गर्न नहुने उल्लेख गर्दै संस्थाको विश्वसनीयता र वास्तविक वित्तीय अवस्था बुझेर निर्णय लिन आग्रह गरे। ब्याजको प्रलोभनमा पर्दा धेरै नेपालीले आफ्नो बचत गुमाउनुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले बचत गर्नुअघि संस्थाको आर्थिक अवस्था र विश्वसनीयताबारे अध्ययन गर्नुपर्ने बताए।
अधिकारीले सहकारीको सञ्चालक समितिमा स्थानीय व्यक्तिको सहभागिता, समितिको संरचना, नियमित साधारणसभा, लेखापरीक्षण तथा वित्तीय पारदर्शिताको अवस्थाबारे सदस्यले जानकारी राख्नुपर्ने बताए। संस्थाले वित्तीय मापदण्ड र आवश्यक सूचक पूरा गरेको छ कि छैन, जगेडा कोषको अवस्था कस्तो छ तथा निर्धारित मापदण्ड पालना गरिएको छ कि छैन भन्ने विषयमा समेत सदस्यले चासो दिनुपर्ने उनको भनाइ थियो।
सहकारी शिक्षा हासिल गर्नुका साथै सदस्यले दिएका सुझाव कार्यान्वयन भए–नभएको विषयमा निगरानी गर्नुपर्ने उल्लेख गर्दै अधिकारीले साधारणसभा, विस्तारित मञ्च र अन्तरक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरे। सदस्यको सहभागिता, नियमित खबरदारी र संस्थाका गतिविधिबारे प्रश्न गर्ने संस्कारले सहकारीलाई पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउन सहयोग पुग्ने उनले बताए। नियमित बचत गर्ने बानीलाई निरन्तरता दिनुपर्नेमा समेत उनले जोड दिए।
२ अर्ब २ करोडभन्दा बढी कुल सम्पत्ति
साधारणसभामा प्रस्तुत आर्थिक विवरणअनुसार कोलिय देवदह सहकारीको कुल सम्पत्ति २ अर्ब २ करोड ७५ लाख ३९ हजार १६४ रुपैयाँ रहेको छ। संस्थाको शेयर पुँजी ७ करोड ७५ लाख ३२ हजार ७०० रुपैयाँ र संस्थागत पुँजी १३ करोड १६ लाख ११ हजार २०५ रुपैयाँ रहेको जानकारी गराइएको थियो।
त्यस्तै, बचत निक्षेप १ अर्ब ७५ करोड ३२ हजार ४०९ रुपैयाँ, ऋण लगानी १ अर्ब ३८ करोड ४ लाख ८३ हजार १३१ रुपैयाँ, कुल आम्दानी १४ करोड ३१ लाख १५ हजार ९९० रुपैयाँ र खुद बचत २ करोड ४२ लाख ४७ हजार ९०२ रुपैयाँ रहेको विवरण प्रस्तुत गरिएको थियो।
साधारणसभामा अध्यक्ष ऋषिराम सापकोटाले अध्यक्षको प्रतिवेदन, सचिव कृष्णराज पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष हरि भण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले प्रस्तुत प्रतिवेदनहरू पारित गरेको थियो।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष शुभकान्त न्यौपाने, संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, विष्णुप्रसाद पौडेल, मित्रलाल न्यौपाने, भीमप्रसाद गुरुङलगायतको उपस्थिति थियो। कार्यक्रममा संस्थाका सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।
साधारणसभाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, २५० भन्दा बढीको स्वास्थ्य परीक्षण
संस्थाको वार्षिक साधारणसभाको अवसरमा आयोजित निःशुल्क मधुमेह तथा दन्त परीक्षण शिविरबाट २५० भन्दा बढीले स्वास्थ्य परीक्षण सेवा लिएका छन्।
लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको आयोजनामा, कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको सहयोग तथा साधना पोलिक्लिनिक, विजय डेन्टल होम र केरवानी मेडिकल हलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा सहकारीका शेयर सदस्यहरूलाई लक्षित गरी निःशुल्क मधुमेह तथा दन्त परीक्षण सेवा प्रदान गरिएको थियो। साधारणसभाको अवसरमा आयोजित शिविरले शेयर सदस्यहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा स्वास्थ्यप्रति सचेत रहन सहयोग पुर्याएको संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए ।