यस पटक मुस्ताङबाट विगतमा भन्दा पाँच हजार कम १३ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बजारमा लगिने भएको छ ।
बाढीपहिरोका कारण देशभर चाडपर्वमा रौनकता घटेको, मुख्य खपत हुने बजारसम्म पुग्ने सडक सञ्जाल अवरुद्ध तथा हिमाली क्षेत्रमा भारी बर्षासँगै बाक्लो हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएपछि गत बर्षको तुलनामा बिक्री घटेको हो ।
गत बर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा बजार लगिएको थियो । यस पटक हालसम्म १० हजारको स्वास्थ्य परीक्षण गरी पठाइएको छ । जिल्लाभित्र रहेका पशुपालक कृषकले ५ हजार भेडाच्याङ्ग्रा बिक्री गरिसकेका छन । छिमेकी जिल्ला डोल्पाबाट थप ५ हजार मुस्ताङ हुदैं बाहिरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला बाहिरबाट भेडाच्याङ्ग्रा खरिद गर्न आउने ब्यापारी सडक अवरुद्ध भएका कारण समेत बिक्रीमा असर भएको छ । चरन क्षेत्रमा राखिएका च्याङ्ग्रालाई हिउँचितुवा र ब्याँसोले सताउने गरेको अवस्थामा जोगाएर च्याङ्ग्रापालन गरेको अवस्थामा यस पटक बिक्रीका लागि सदरमुकाम जोमसोमसम्म पुग्नुपर्ने अवस्था आएको कृषकको भनाइ छ ।
मुस्ताङबाट पाँच हजार तथा डोल्पाबाट ५ हजार र कोरला नाकाबाट ३ हजार गरी १३ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ । कठोर हावापानीमा हुर्किने र लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गरेको छ । गत वर्ष भेडाच्याङ्ग बेचेर ३६ करोड आम्दानी भएको कृषकले जनाएका छन् ।