देवदह । देवदह खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, देवदह–७ रुपन्देहीको ९ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। शनिबार देवदह आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा साधारणसभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष गुमान सिंह कुवर क्षेत्रीको अध्यक्षता तथा देवदह नगरपालिकाका ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले दीर्घकालीन रुपमै उपभोक्तालाई शुद्ध र सहज ढंगले खानेपानी उपलब्ध गराउने लक्ष्यसहित नगर अघि बढिरहेको बताउनुभयो।
नगर प्रमुख खरेलले देवदह नगरपालिकालाई “एक घर–एक धारा” नगर बनाउने उद्देश्य रहेको उल्लेख गर्दै पाल्पाको माथागढी बाट खानेपानी ल्याउने योजना बनाइरहेको बताउनुभयो। नगर प्रमुख खरेलले देवदहमा रहेका खानेपानी संस्थाहरुले खानेपानी सुरक्षा योजनामा विशेष जोड दिँदै मुहानदेखि उपभोक्ताको घरसम्म गुणस्तरीय खानेपानी पुर्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले खानेपानी संस्थालाई आवस्यक सहयोग गर्न सधै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका रुपन्देही जिल्ला अध्यक्ष ध्रुब कुमार धिताल ले सबैको लागी सधैको लागी खानेपानी भन्ने नारा सहित महासंघ उपभोक्तालाई स्वच्छ ढंगले पिउने पानीको प्रबन्ध मिलाउने योजना सहित लागिरहेको धारणा व्यक्त गर्नुभयो।
सभामा संस्थाका अध्यक्ष गुमान सिंह कुवर क्षेत्रीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै बढ्दो शहरीकरण सङ्गै घरहरु थपिने क्रम निरन्तर रहेको र खानेपानीको माग समेत तीब्र भएको उल्लेख गर्दै पाल्पा जिल्लाको माथागढी गाउँपालिका अन्तर्गत झुम्सा खोलाबाट देवदहमा खानेपानी ल्याउने संभाव्यता अध्ययन भैरहेको बताउनुभयो ।
अध्यक्ष कुवरले देवदह नगरपालिकाको सहयोगमा नगर स्तरीय ल्याब स्थापना गरि संचालन भैरहेको र थप परिस्कृत गर्दै लैजाने योजना बनाएको उल्लेख गर्नुभयो।
साधारणसभामा सचिव हरी पाण्डेले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्तालाई सफा र सुरक्षित खानेपानीको प्रबन्ध मिलाउन प्रतिबद्ध रहेको बताउनुभयो। सचिव पाण्डेले देवदह -८ टटेराबाट देवदह -७ शितलनगरमा पानी संकलन गर्न रिजर्भवायर टंकी निर्माण र सरनबारीमा पानी वितरण गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्ने योजना अगाडी बढाएको बताउनुभयो।
कोषाध्यक्ष कृष्ण ज्ञवालीले संस्थाको दुई करोड १२ लाख ७७०.६४ रुपैयाँ बराबरको आय–व्यय विवरणसहित आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले मितव्ययी खर्च नीति अवलम्बन गरिएको बताउनुभयो।
संस्थाका उपाध्यक्ष अनिशा लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव हरी पाण्डेले गर्नुभएको थियो। सभाले प्रस्तुत गरेको सम्पूर्ण प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। २०६२ सालमा स्थापना भएको देवदह खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हालसम्म ५ हजार ९३६ उपभोक्ता रहेका छन्। संस्थाले करिब ६ हजार घरधुरीमा धारा जडान गरिसकेको छ।
संस्थाले ८ वटा डिप बोरिङमार्फत उपभोक्तालाई २४ सै घण्टा पानी वितरण गर्दै आएको जनाएको छ। त्यस्तै संस्थाको चौथो अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागी आजै मतदान समेत सम्पन्न भएको छ।
निर्वाचनमा २९५७ मत खसेको निर्वाचन मण्डल संयोजक डासिराम पाण्डेले जानकारी दिनुभयो।