जनता माध्यमिक विद्यालयमा सञ्चालित स्काउट दलको दीक्षान्त समारोह आइतबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका १६ जना छात्र र २२ जना छात्रा गरी कुल ३८ जना तालिमप्राप्त स्काउटहरूलाई औपचारिक रूपमा स्वागत, सम्मान तथा दीक्षित गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा ढकाल ले स्काउटिङले परोपकार, अनुशासन र सेवाभाव जस्ता महत्वपूर्ण गुणहरू सिकाउने बताउनुभयो। उहाँले स्काउटले अप्ठ्यारो परिस्थितिमा कसरी जोगिने र अरूलाई कसरी बचाउने, समाजमा असल नागरिकको रूपमा कसरी स्थापित हुने, विकृति–विसंगतिको विरुद्ध कसरी उभिने तथा इमान्दार र जिम्मेवार व्यक्ति बन्ने जस्ता जीवनोपयोगी शिक्षा प्रदान गर्ने धारणा राख्नुभयो।
सोही अवसरमा विद्यालयका प्रधानाध्यापक तथा जनता स्काउट दलका अध्यक्ष कृष्ण अर्याल ले प्रेरणादायी मन्तव्य राख्दै सहभागी स्काउटहरूलाई स्काउटिङका मूल्य र मान्यताहरू व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले अनुशासन, सेवा, नेतृत्व र आत्मविश्वासजस्ता गुणहरू आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।
दीक्षान्त समारोहमा छात्रहरूलाई स्थानीय स्काउट देवदह नगर समिति सदस्य सुरज भट्टराई ले दीक्षित गराउनुभएको थियो भने छात्राहरूलाई स्काउट मास्टर अनिता बुढाथोकी ले दीक्षित गराउनुभएको थियो। कार्यक्रममा स्थानीय स्काउट देवदह नगर समिति सदस्य अर्जुन गौतम, स्काउट मास्टरहरू रवि रेग्मी, भरत खनाल, पूजा बोहरा, आरती पराजुली लगायत विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यसैगरी, देवदह माध्यमिक विद्यालय मा पनि गत आइतबार स्काउट दीक्षान्त समारोह सम्पन्न भएको थियो। उक्त कार्यक्रममा विद्यालयका ४२ जना स्काउटहरूलाई दीक्षित गरिएको थियो। समारोहमा छात्रहरूलाई स्काउट मास्टर सुरज भट्टराईले दीक्षित गराउनुभएको थियो भने छात्राहरूलाई स्काउट मास्टर पूजा बोहरा ले दीक्षित गराउनुभएको थियो।
हाल देवदह क्षेत्रमा देवदह बुद्ध पब्लिक आवासीय मा वि, केरवानी मा वि, सरस्वति मा वि, भविष्य निर्माण मा वि, महामाया भवानी मा वि, देवदह मदर टङ्गस् एकेडेमी, युगज्योति मावि, सगरमाथा आवासीय मावि, न्यु नमुना ई.बो स्कुल, कोलिय इंगलिस बोर्डिंग स्कुल, न्यु लुम्बिनी बोर्डिंग स्कुल, ग्रीन प्लान्ट आवासीय मा.वि र सरस्वति शिक्षालय मा स्काउट शिक्षा सञ्चालन भइरहेका छन्।
समग्रमा हेर्दा देवदहमा स्काउट कार्यक्रम प्रभावकारी र उत्साहजनक रूपमा अघि बढिरहेको छ। विद्यालय तहदेखि नै विद्यार्थीहरूमा अनुशासन, नेतृत्व, सेवाभाव र सामाजिक उत्तरदायित्व विकास गराउने कार्य सराहनीय छ। देवदहमा सञ्चालित स्काउट अभियानले स्थानीय युवाहरू, विद्यार्थीहरुमा अनुशासन, इमान्दारिता र सेवाभावको ज्योति प्रज्वलित गरिरहेको छ। दक्ष र जिम्मेवार नागरिक उत्पादन गर्ने यो सत्प्रयासले समाजको सुन्दर भविष्य निर्माणमा एउटा बलियो आधारशिला खडा गरेको देखिन्छ।