'फाइनल प्रवेशका लागि दोस्रो क्‍वालिफायरमा भिड्दै लुम्बिनी र विराटनगर'

२ महिना अगाडि

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अब २ खेल ३ टोलीले खेल्दैछन । ३ टोलीमध्ये एक सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ, भने लुम्बिनी लायन्स र विराटनगर किंङ्स मध्ये फाइनलमा पुग्ने अर्को टोलीको आज टुङ्गो लाग्दै छ ।

आज दोस्रो क्‍वालिफायर हुँदैछ जहाँ विराटनगर किङ्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् । अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने यो खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताको तेस्रो स्थानमा रहनेछ ।

विराटनगर पहिलो क्‍वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो मौकामा खेल्दैछ । अर्कोतर्फ लुम्बिनीले भने बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएर दोस्रो क्‍वालिफायरमा स्थान बनाएको हो ।

लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेल्दै छ । यो नकआउट खेलमा जसले दबाब झेल्न सक्छ उसैले जित्ने पक्का छ । लुम्बिनीका कप्तान रोहित पौडेलले भने, ‘यो खेल दुवैलाई नकआउट हो, प्रेसर दुवैलाई बराबर हुन्छ । दुवै टोलीमा राम्रा खेलाडी छन् । जसले प्रेसर ह्यान्डल गर्न सक्छ त्यही टोलीले जित्न सक्छ’ उनले हिजोको खेलपछि भनेका थिए, ‘हाम्रा लागि ४ वटै खेल नकआउटजस्तै थिए, हारेपछि बाहिरिने खालको थियो। अब बाँकी खेल पनि त्यस्तै हुन्, यस खेल महत्वपूर्ण हुनेछ।’

विराटनगर यस प्रतियोगिता अघि नै स्टार विदेशी खेलाडी अनुबन्ध गरेर चर्चामा आएको टिम हो । गत संस्करणको खराब प्रदर्शन बिर्साउँदै प्लेअफ पनि पुगेको छ । तर विराटनगरको लय एकैनासको देखिएको छैन ।

सुरुवाती ३ खेल जितेपछि विराटनगरले ‘हार जितको नतिजा निकालेको छ । यीमध्ये पछिल्ला दुई खेलको जित र हार एउटै टोलीसँग थियो (सुदूरपश्चिम रोयल्स) । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग एकपक्षीय जित निकालेको विराटनगर त्यसपछि त्यही टोलीसँग एकपक्षीय हार बेहोर्‍यो ।

यो यात्रामा विराटनगरको एउटै समस्या देखिएको छ, त्यहो हो मिडल अर्डर ब्याटिङ । टप अर्डर नचलेको अवस्थामा मिडल अर्डरले राम्रो गर्न सकिरहेका छन् । कर्णाली याक्ससँग बसिर अहमदको शानदार ब्याटिङबाहेक मध्यक्रम प्रभावकारी हुन सकेको छैन ।

टप अर्डरमा साम हिजलेट, फाफ डुप्लेसी र मार्टिन गप्टिल चलेको अवस्थामा राम्रो खेलेको विराटनगरले यी ३ बाट राम्रो योगदान नहुँदा जित निकाल्न कठिन हुने देखिएको छ ।

बलिङमा भने विराटनगर ठीक ठाक छ । राष्ट्रिय टोलीकै स्पीनर सन्दीप लामिछानेले बलिङको नेतृत्व गरेका छन् । उनले ८ खेलमा १५ विकेट लिँदै टोलीका लागि सर्वाधिक अनि एनपीएलमा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनलाई मर्चेन्ट डे लाङ अनि अन्य पार्ट टाइमरले साथ दिइरहेका छन् ।

अर्कोतर्फ लुम्बिनीले लगातार चौथो जित निकालेर यहाँसम्म आइपुगेको छ । लिग चरणका अन्तिम ३ खेलमा लगातार जित निकालेको लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हरायो । लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ ।

लुम्बिनीका लागि नेपाली खेलाडीको प्रदर्शन अग्रणी भूमिकामा देखिएको छ । ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडी शीर्षमा छन्, त्यसमा विदेशी खेलाडीले साथ दिएका छन् ।

शेर मल्ललाई बलिङमा रुबेन ट्रम्पलमन र कप्तान रोहित पौडेलबाट पनि साथ मिलिरहेको छ । ब्याटिङमा पनि सबैबाट सानो सानो योगदान भइरहँदा लुम्बिनी जितको लय कायमै राख्न सफल भइरहेको छ ।

लुम्बिनी र विराटनगर दुवै संस्करणमा गरेर २ पटक खेलेका छन् । दुवैले एक९एक खेल जितेका छन् । गत संस्करण विराटनगर विजयी हुँदा यो संस्करणमा लुम्बिनीले जित निकाल्यो ।

गत संस्करणमा भएको हाइ स्कोरिङ खेलमा लुम्बिनीले १९१ न डिफेन्ड गर्न सकेको थिएन । १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।

यस्तै यो संस्करण लुम्बिनीले विराटनगरमाथि ५ विकेटको जित निकाल्यो । १४५ रनको लक्ष्य लुम्बिनीले १४ बल बाँकी छँदा पूरा गरेको थियो ।

विराटनगरका लागि टप अर्डरमा फाफ डुप्लेसी, साम हिजलेट र मार्टिन गप्टिलको प्रदर्शन नै यस खेलमा पनि महत्वपूर्ण हुनेछ ।

बलिङमा कप्तान सन्दीप लामिछानेले राम्रो गर्न सक्छन् । ८ खेलमा १५ विकेट लिएका उनी प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिने बलर समेत हुन् । पावरप्लेमा पेस बलर मर्चेन्ट डे लाङले साथ दिनेछन् जसले १० विकेट लिएका छन् ।

यता लुम्बिनीका लागि भने पछिल्लो समय शेर मल्ल शानदार लयमा छन् । बुधबारको खेलमा ३ विकेट लिएका उनले ८ खेलमा विकेट संख्या १३ पुर्‍याएका छन् । पावरप्लेमा विपक्षीको टप अर्डरलाई समस्यामा पारिरहेका उनले आज पनि त्यही काम गर्न सक्छन् ।

शेर मल्लले यसअघि भएको विराटगरसँगको खेलमा पनि टप अर्डर विकेट लिएका थिए । पावरप्लेमा रुबेन ट्रम्पलमनले पनि राम्रो बलिङ गरिरहेका छन् । उनको प्रदर्शनमा पनि नजर रहनेछ ।

कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैमा योगदान दिइरहेका छन् । ब्याटिङमा सबैबाट योगदान भइरहँदा ओपनर डार्शी शर्टमै मुख्य नजर रहनेछ । उनले संयमित भएर ब्याटिङ गरिरहेका छन् । त्यस्तै मध्यक्रममा निरोशन डिक्वेला र सन्दीप जोरामा पनि मुख्य नजर रहनेछ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै