अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो।
‘विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको छ ।
उनी स्वास्थ्य सचिवको आकांक्षी समेत थिइन् । सरकारले उनको साटो डा. विकास देवकोटालाई सचिव बनाएपछि उनी बिदामा बसेकी थिइन्।
जेन–जीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।
स्वभाविक स्वास्थ्यमन्त्रीको रुपमा मिश्राको नाम चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने’ जानकारी गराएको थियो । त्यसपछि मिश्राको नाम एकाएक रोकिएको थियो ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचारमुद्दा पेश गरेको हो ।