सङ्खुवासभाको मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङका प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात भएको छ ।
घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका ५५ वर्षीय शिक्षक सोमनाथ दाहाल र ५४ वर्षीया लेखकुमारी भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।
वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिन शिक्षक प्रतिनिधि छनोट गर्ने क्रममा प्रधानाध्यापक र शिक्षकबीच विवाद उत्पन्न भएको थियो । सोही विवाद उग्र बन्दै जाँदा कार्यकक्षमै हातपात भएको प्रहरीले जनाएको छ ।
विवादका क्रममा निर्णयसहितका कागजात पनि च्यातिएको बताइएको छ ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमितिले विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष कृष्णबहादुर चापागाई र सचिव टेकबहादुर रायले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ ।
साथै, सम्बन्धित पक्षलाई वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न अपिल गरिएको छ । त्यस्तैगरी नेपाल राष्ट्रिय शिक्षक संगठन मादी नगर समिति अध्यक्ष मातृकाप्रसाद दाहाले पनि घटनाको भर्त्सना गरेका छन् ।
बैठक चलिरहेका बेला सुनियोजित ढंगले निर्णय च्यात्ने, प्रधानाध्यापकमाथि हातपात गर्ने, अकल्पनीय, अनैतिक, अमानवीय, गैरजिम्मेवारपूर्ण कार्य तथा ज्यादतीपूर्ण घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
घटनापछि पक्राउ परेका आरोपित शिक्षकहरूलाई प्रहरीले इलाका प्रहरी कार्यालय चैनपुरको हिरासतमा राखी ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।