जन्मिएदेखी नै मानिस प्रगतीतर्फ लम्किरहेको हुन्छ । जीवनका सम्पुर्ण चरणहरुमा कुनै न कुनै थोक प्राप्त गर्ने चाहाना एक विवेकशिल मानिसमा विद्यमान हुन्छ । सफलताको भोक मृत्युसम्म नै रहिहन्छ ।
कुनै पनि व्यक्तिलाई कुनै समयमा जुन कुरा हाँसिल गर्ने चाहाना हुन्छ, सो व्यक्तिले त्यस समयमा उक्त कुरा प्राप्त गर्दछ भने उसको लागी त्यो सफलता हो । वर्तमान परिपेक्षलाई हेर्ने हो भने सफलताको प्रत्यक्ष सम्बन्ध पैसा, धनसम्पत्ति,सत्ता र शक्ति सँग हुन्छ ।
सफलता पाउन हामी रातदिन भागदौड गर्दछौ, कडा मेहनत गछाैँ, आफुलाई दबावमा राख्छाैं, जति बेला नी चिन्तित भईरहन्छाैँ । जसबाट हामी कहिले राम्रो प्रतिफल पाउछाैँ त कहिले निराशा हासिल गछाैँ । सधैँ नतिजा आफ्नो पक्षमा हुन्छ भन्ने छैन । सफलता प्राप्त गर्दा हामी अत्यन्तै खुशी र सन्तुष्टि भई आनन्द मनाउछाैँ ।
हुन त मान्छेको कुनै सिमा भने हुदैन, एक प्राप्त भएपछि तुरन्तै अर्को चाहाना पैदा भईसक्छ । यो मानवीय प्राकृतिक प्रकृया वा भनौ मानवीय विशेषता ने हो । अब्राहम मस्लोको आवश्यकता श्रेणीको सिद्धान्तले यो बताँउछ कि मानिस पहिलो चरणमा आफ्ना आधारभुत आवश्यकता पुरा गर्न परिश्रम गर्दछ । यदि त्यो चरण पुरा भयो भने अथवा पहिले नै त्यो चरणमा पुगिसकेको छ भने दोस्रो श्रेणी, तस्रो श्रेणी गर्दै क्रमश पाँचाैं श्रेणीमा पुग्दा आत्मसन्तुष्टिको आवश्यकताको चरणमा पुग्दछ । त्यो चरण पुरा गरिसकेपछि पुर्ण रुपमा मान्छे सन्तुष्ट हुन्छ भन्ने उनको सिद्धान्तले दर्शाउछ ।
तर बास्तविक व्यवहारमा पुर्ण आत्मसन्तुष्टि प्राप्त हुदैँन । कतिपय करोडपति, अर्बपति वा खर्बपतिको जविनस्तर हेर्दा आत्मसन्तुष्टिको स्थितीमा पुगेको देखिन्छ । तर केवल उनिहरु आर्थिक दृष्टिकोणले मात्रै सफल भएका हुन । खासमा उनिहरु यो चरणमा पुग्दा समम पारिवारिक सम्बन्ध, स्वास्थ्य स्थिती जस्ता व्यक्तिगत अन्तरनिहित पक्षहरुमा दुर्वल भएका हुन सक्छन । धनसम्पत्तिले भरिपुर्ण होलान् आफुमा बढी भएर अरुलाई सहयोग नि गर्लान तर त्यो खुसि पनि क्षणिक हुन सक्छ । त्यसैले सफलतारुपी धनले मानिस खुसी हुन्छ भन्ने कुरा विध्या हो ।
तर यसो भन्दै गर्दा आजको शताब्दीमा यो तथ्य त्यती सान्दर्भिक मानिदैन, बढी आदर्शवादी बिचार थोपरेको जस्तो देखिन्छ । त्यसैले गर्दा नै हामी उक्त सफलतारुपी धन आर्जन गर्न तल्लिन र लालाहित भएका हाैं ।
अब कुरा गराैं सफल हुने कसरी भन्ने विषयमा, सफल हुने सबैभन्दा प्रमुख सुत्र पक्कैपनि मेहेनत हो । जसमा लगनशिलता, निरन्तरता र सर्मपणताले मुख्य भुमिका निर्वाह गर्दछन । तर समस्या कहाँ निर छ त भन्दाखेरी हामी मेहेनत,कडा परिश्रम गरी पुरै सर्मपण पनि हुन्छाैँ तर दुःख गरेर अर्थात आफुलाई पिडा बोध गराएर मेहेनत गछाैं । गरिरहेको प्रयासमा आफुलाई जबरजस्ती धकेलिएको महसुस गराउछाैँ । जसको फल स्वरुप त्यो पुरै प्रकृयामा हामी आफुलाई दुःखी तुल्याउछाैं ।
अन्ततः नतिजा प्राप्त हुने समयमा सफल भयौ भने खुसी नै हुन्छाैं तर गल्तीले असफल भयाैं भने हामी त्यस बेला सहन गर्न सक्दैनौ । किनकी शरिरलाई मात्र नभई हाम्रो मस्तिष्कलाई पनि सुरु देखी नै दुःखी बनाई राखेका हुन्छाैं । सफल भएता पनि त्यो रमाहट क्षण भर मै विलिन हुन्छ, किनभने लामो समय त पिडामा बिताईसकेका हुन्छाैं । चाहे पढाईको क्षेत्रमा होस् वा कुनै व्यवसाय तथा रोजगारमुलक काममा होस् यस्तो परिस्थितीहरु अक्सर मानिसले अनुभव गरिरहनु पर्दछ ।
तर यसको विपरित यदि हामी खुसी भएर काम गर्दछाैं, मेहेनत गर्दा रमाहटका साथ आनन्दित भएर प्रयासहरु गर्दछौ भने त्यही प्रयास मै हामी सफलता वा सन्तुष्टि भेटाउन सक्छाैं । मेहेनत गर्नु बाध्यता नभई नयाँ कुरा सिक्ने, अनुभव बदल्ने जस्ता सुर्वण अवसर प्राप्त भएको महसुस गर्दछाैं । यसरी आफ्नो काम प्रति सकारात्मक भावना र खुसीका साथ अनायो भने आफु र आफ्नो कार्य दुबै पक्षलाई सम्मृद्धिको उचाईमा पुगेको पाउन सकिन्छ ।
जसको फलस्वरुप व्यक्तिगत आत्मविश्वास र कामको गुणस्तरमा समेत उल्लेखनिय बृद्धि हुँदैछ । नतिजाको समयमा हामी असफल नै भएता पनि हामीमा सहन गर्ने सार्मथ्यको विकास भएको हुन्छ । त्यति बेलाको दुःख क्षणिक मात्र हुन्छ, किनकी आफ्नो सम्पुर्ण प्रयासमा व्यक्तिले सन्तुष्टि प्राप्त गरेको हुन्छ । यसै सन्र्दभमा विश्व प्रसिद्ध विद्धान लेखक तथा दार्शनिक Albert Schweitzer को एउटा भनाइ छ “Sucess is not the key to happiness. Happiness is the key to success” अथात् “खुशी सफलताको चाबी हो, न कि खुशीको चाबी सफलता” ।
यस्तो विषयहरुमा ध्यान दिई बुझ्न नसकेको कारण आज मानिस बेखुशी, असन्तुष्ट र निराशा भई जीवनलाई देखिरहेको छन् । हो, मान्छेहरुलाई जीवननिर्वाह गर्न भौतिक साधनको खाँचो पर्दछ, जसलाई पुरा गर्न पैसा नै चाहिन्छ र मानिस सुखको खोजिमा दौडिन्छ यो कुरामा कुनै दुईमत छैन तर यी सब हासिल गर्दा अपनाउने बाटो चाँही कतै गलत त छैन भनेर विचार गर्नुपर्ने देखिन्छ । धन एउटा सुख प्राप्तिको साधन मात्र हो खुसी चाँही होइन ।
अतः हामी जे गरिरहेका छाैँ त्यो कार्य ठिकसँग निरन्तर गरिराखाैं । मेहेनतको क्रममा आईपर्ने कठिनाईलाई पनि खुसिसाथ पन्छाँउदै जाँउ , प्रतिफलको विषयमा बढी चिन्ता गरेर वर्तमानमा गर्नुपर्ने कर्तव्यलाई पछाडी पारेर पक्कै पनि फाईदा छैन ।
आफ्नो तर्फबाट सक्दो बल, ध्यान, बुद्धि र क्षमता (तन,मन,धन) लगाउने चाँहि बुद्धिमान कार्य हो । आफ्नो सम्पुर्ण समझले खचेको प्रयासमा नै सन्तुष्ट रहनु असल हुन्छ । त्यसकारण Input आफ्नो हातमा छ, त्यसबाट आउने Outcome आफ्नो नियन्त्रणमा नभएकोले आफ्नो नियन्त्रणमा भएको चिजलाई ध्यान दिने प्रयत्न गर्नुपर्दछ । नतिजा सोचेजस्तो नभएमा पनि दुखि र निराश हुनु पर्दैन । आफ्नो कार्यको प्रयासले चाँहि महत्व राख्दछ भन्ने कुरा भन्ने कुरामा विश्वस्त हुनुपर्दछ र प्रतिफल प्रति आशावादी बन्न सकिन्छ ।
-लेखक लुइटेल बिराटनगरमा अध्यायन संगै विभिन्न विधामा कलम चलाउनुहुन्छ ।