रुपन्देही — वन डढेलो न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीको देवदहमा वन डढेलो सप्ताह–२०८२ सुरु गरिएको छ। “वन डढेलो रोकथाम, हाम्रो अभियान” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिएको हो। डिभिजन वन कार्यालय रुपन्देही, लुम्बिनी प्रदेशको समन्वय तथा गाउँ वन समन्वय सञ्जाल देवदह को आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो। सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ वन अधिकृत उमेश कुमार साहले नेपालमा अधिकांश वन डढेलो मानवीय कारणले हुने भएकाले यसलाई रोक्न व्यापक जनचेतना आवश्यक रहेको बताए। उनले वन डढेलो न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगलागी नियन्त्रणका लागि स्थानीय स्तरमै ‘रेपिड एक्सन फोर्स’ अर्थात् फायर नियन्त्रण दस्ता गठन गर्नुपर्नेमा जोड दिए। समुदायले वन डढेलो नियन्त्रणमा सक्रिय चासो देखाएमा यसको जोखिम घटाउन सकिने उनको भनाइ थियो।
सञ्जालका वरिष्ठ उपाध्यक्ष तेजबहादुर कुँवर क्षेत्रीका अनुसार सप्ताहव्यापी कार्यक्रम चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा वन डढेलो नियन्त्रण, जनचेतना अभिवृद्धि तथा वन संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पस का अध्यक्ष बासुदेव रिमाल, क्याम्पस प्रमुख जयकिसन अधिकारी, स्मृति सामुदायिक वन उपभोक्ता समूहकी सचिव सुशीला भट्टराई तथा कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा जनप्रिय सामुदायिक वन उपभोक्ता समूहका कार्यवाहक अध्यक्ष टेकबहादुर विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्जालका सचिव टेकबहादुर रानाले कार्यक्रम सञ्चालन गरेका थिए।