देवदह । रूपन्देहीको देवदह ७ स्थित देवदह माध्यमिक विद्यालयमा सञ्चालित स्काउट दलको दीक्षान्त समारोह बिहीबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यालयका ४२ जना तालिमप्राप्त स्काउटहरूलाई औपचारिक रूपमा स्वागत, सम्मान तथा दीक्षित गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय स्काउट कार्यालय देवदह नगरपालिकाका प्रमुख आयुक्त विकास गहतराजले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै स्काउट शिक्षाले नेतृत्व, अनुशासन र समुदाय सेवाप्रतिको समर्पणलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक एवं देवदह स्काउट दलका अध्यक्ष हरि प्रसाद पाण्डेयले स्काउट शिक्षाको आवश्यकतामाथि जोड दिँदै यसले विद्यार्थीहरूलाई अनुशासित, लगनशील र जिम्मेवार नागरिक बनाएर समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रतिज्ञा ग्रहण, स्कार्फ तथा ब्याच वितरण साथ सम्पन्न सो कार्यक्रममा नगर स्काउट सदस्य सुरज भट्टराई, स्काउट मास्टरहरू पूजा बोहरा, प्रभा कार्की, नेहा सुवेदी, आरती पराजुली, रेन्जरहरु पुष्पा खड्का र दिपा पाण्डे लगायत विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। स्काउट शिक्षक सुदिप भुसालको संयोजन र स्काउट मास्टर दिल कुमार विकको सञ्चालनमा उक्त दीक्षान्त समारोह सम्पन्न भएको विद्यालयले जनाएको छ।

