प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले रुपन्देही क्षेत्र नं ३ मा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ ।
पार्टीका उम्मेदवार अनुशासनको कारबाहीमा परेकाले प्रलोपाले रुपन्देही क्षेत्र नं ३ मा एमालेका घिमिरेलाई सघाउने निर्णय गरेको हो । पार्टीले प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ ।
पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्तरूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही क्षेत्र नं ३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराए ।
यसअघि प्रलोपाबाट यस क्षेत्रका उम्मेदवार रास्वपा प्रवेश गरेपछि प्रलोपाले कुनै निर्णय गरेको थिएन । यो समझदारीमा प्रलोपाका नेता बामदेव क्षेत्री, उम्मेदवार घिमिरेले सहमतिअनुसार अघि बढ्ने जनाएका छन् । पार्टीका अनुसार कर्णाली प्रदेश तथा साविक राप्तीका केही स्थानमा समेत नेकपा एमालेसँग चुनावी तालमेल भएको छ ।
रूपन्देही ३ मा यसअघि जसपाका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले घिमिरेलाई सघाउने निर्णय गरेका थिए ।
