'चितवनमा गैँडा मार्ने आठ जना खागसहित पक्राउ'

२ वर्ष अगाडि

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा मारेर निकालेको खागसहित आठ जना पक्राउ परेका छन् ।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण-पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।

गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते त्यही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ । पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन् ।

गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ । निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ ।

निकुञ्जको महत्त्वपूर्ण भू-भागमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो । घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

उहाँका अनुसार आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्युरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ ।

सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा  निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गएकाे वर्ष दुईवटा गैँडा सिकारीले मारेका निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् ।

नेपालमा साना ठुला गरी जम्मा सात सय ५२ गैँडा रहेका  छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ