इजरायलबाट पहिलो चरणमा एक जना घाइतेसहित २ सय ५४ जना विद्यार्थी स्वदेश फर्किएका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु शुक्रवार आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । रातिदेखि नै उनीहरुलाई पर्खिएर बसेका आफन्तसँग अङ्कमाल गर्दा सबैका आँखामा हर्षको आँसु देखिन्थ्यो ।
‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरुले त्यहाँको कहालीलाग्दो क्षण अझै बिर्सिएका छैनन् । आफूहरु भाग्यले बाँचेको उनीहरुले बताए । स्वदेश फर्कनेमध्ये एक विद्यार्थी शोभा पासवानले भन्नुभयो, ‘बम र बङ्करबाट फुत्कन पाएको र आफ्नै देशमा भित्रिएकोमा खुसी लागेको छ, तर गुमाएका साथीको याद सधैँभरी हुनेभयो ।’
पहिलो चरणमा नेपाल फर्किएकाहरुमध्ये त्रिभुवन विश्वविद्यालयका ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना गरी एक सय ३२ जना विद्यार्थी छन् । सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति अम्मरराज जोशीले आफ्नो विश्वविद्यालयबाट इजरायल गएकामध्ये एक जना घाइतेसहित ३५ जना विद्यार्थी फर्किएको जानकारी दिनुभयो । इजरायलमा १० जना विद्यार्थी गुमाउनु परेको र एक जना सम्पर्कविहीन भएको घटनाले ठूलो आघात पुगेको भए पनि अन्य विद्यार्थीको सकुशल उद्धार भएकोमा निक्कै खुसी लागेको जोशीले बताउनुभयो ।
आफ्नो नगरपालिकाका विद्यार्थीलाई लिन कञ्चपुरको कृष्णपुर नगरपालिका मेयर हेमराज ओझा पनि बिहानै विमानस्थल पुग्नुभएको थियो । इजरायलबाट विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उहाँ आगमन कक्षमा पर्खिरहनुभएको थियो । सुदूरपश्चिम विश्वविद्यालय टीकापुरबाट इजरायल पुगेका आफ्नो पालिकाका तीनजनामा पदम धामी, रमेशबहादुर कार्की र नितिन भण्डारीजना विद्यार्थीसहितको टोलीलाई उहाँले स्वागत गर्नुभयो ।
इजरायल पुगेको एक महिना नबित्दै घटना भएपछि आत्तिएका उनीहरू सरकारको पहलमा आज नेपाल आइपुगेपछि निक्कै हर्षित छन् । उनीहरुलाई आज आफूसँगै राखेर भोलि दिउँसो कञ्चनपुर फर्किने तयारी भइरहेको मेयर ओझाले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय पोष्टग्राजुयट कार्यक्रम संयोजक प्रोफेसर डाक्टर कृष्ण काफ्लेले आफ्नो विश्वविद्यालयका इजरायल गएका ९७ जना विद्यार्थी पनि फर्किएको जानकारी दिनुभयो । राम्रो उद्देश्यले विद्यार्थीलाई त्यसतर्फ पठाए पनि भवितव्य आइलागेको र अबका दिनमा रोजगारी र शिक्षामा देखिएका समस्याहरुको दिगो समाधानका लागि देशमै व्यवस्था मिलाउनतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । यो घटनाले विद्यार्थी फेरि इजरायल पठाउनेबारे सोच्नुपर्ने र यसबारे विश्वविद्यालयले पनि समिक्षा गर्ने उहाँको भनाइ छ ।
नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट उनीहरुलाई आज बिहान काठमाण्डौ ल्याइएको हो । परराष्ट्रमन्त्री एनपी साउद आफैँ हिजो इजरायल जानुभएको थियो । काठमाण्डौ ओर्लिएपछि परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताउनुभयो ।
मन्त्री साउदले इजरायलमा रहेका २ सय ६५ जना नेपाली विद्यार्थी र विभिन्न क्षेत्र र पेसामा कार्यरत झण्डै ४ हजार ५ सयमध्ये केही नेपाली द्वन्द्वको प्रत्यक्ष प्रभावमा परेको बताउनुभयो । त्यसमध्ये पहिलो चरणमा २ सय ५४ जनालाई नेपाल फर्काउन सफल भएको उहाँको भनाइ छ ।
मन्त्री साउदले ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको, ४ जना घाइते भएकोमा एक जनाको उपचारपछि नेपाल ल्याएको, एक जना अस्पतालबाट डिस्चार्ज भएको र दुई जना अस्पतालमा नै उपचाररत रहेको पनि जानकारी दिनुभयो ।
सम्पर्कविहीन विपीन जोशीको पनि खोजी कार्य भइरहेको र सरकारले आवश्यक समन्वयमा काम गरिरहेको मन्त्री साउदले जानकारी दिनुभयो । नेपाली दूतावासले सुरक्षित ठाउँमा जान र नेपाल फर्कन चाहनेलाई अनलाइनमार्फत् आफ्नो विवरण उपलब्ध गराउन भनेको थियो । त्यसपछि ५ सय ५७ जनाले विवरण उपलब्ध गराएको र ५ सय ३ जनाले नेपाल फर्कन अनुरोध गरेका छन् । बाँकी रहेकालाई पनि छिट्टै नेपाल ल्याउन पहल भइरहेको सरकारले जनाएको छ ।
त्यसैगरी ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको शव नेपाल ल्याउनका लागि इजरायली सरकारसँग समन्वय भइरहेको र शव ल्याउन केही ढिलाइ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सबै आवश्यक प्रक्रिया पूरा गरी शव हस्तान्तरण गर्न केही समय लाग्ने इजरायली सरकारले जानकारी गराएकाले परिवारजनलाई केही समय धैर्यधारण गर्न पनि मन्त्री साउदले आग्रह गर्नुभएको छ ।
– रासस




